
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काभ्रेको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दी भन्दा बढी जग्गा न्यून मूल्यमा पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीको नाममा खरिद गरी बढि मूल्यमा बेचबिखन गर्दा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री नेपालसँगै तत्कालीन कानून मन्त्री प्रेमबहादुर सिंह, भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ र सचिव माधवप्रसाद घिमिरे, छविराज पन्तसहितका व्यक्तिहरुविरुद्ध रिट दायर गरेको हो।
अख्तियारले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा रिट दायर गरेलगत्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृतका अध्यक्ष नेपालको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बनमा परेको छ।
अख्तियारले तत्कालीन सरकारका प्रधानमन्त्री नेपाल, विभागीय मन्त्री तथा मुख्यसचिवले २०६६ साल चैत ६ गतेको मन्त्रिपरिषद निर्णयमार्फत सरकारी सार्वजनिक हुनुपर्ने ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा मनु घिमिरेसहित ८ जना व्यक्तिलाई बिक्री गरी भ्रष्टाचारजन्य कसुर गरेको आरोप लगाएको छ।
यसरी लगाइएको आरोपमा अध्यक्ष नेपालविरुद्ध १८ करोड, ५८ लाख ५० हजार विगो असुलउपर गर्दै कानून बमोजिम हदैसम्मको दण्डसजायको माग गरेको छ।
त्यसैगरी तत्कालीन मन्त्रीहरु प्रेमबहादुर सिंह, डम्बर श्रेष्ठ, मुख्यसचिव तथा खिलराज रेग्मीको कार्यकालका मन्त्री माधवप्रसाद घिमिरे, छविराज पन्तसँग पनि सोही बराबरको विगो र दण्डजरिवानाको माग गरिएको छ।
उनीहरुमध्ये श्रेष्ठ र घिमिरेको निधन भइसकेको छ ।
यसैगरी तत्कालीन सहसचिवद्वय जीतबहादुर थापा, लालमणि जोशी, उपसचिव कलानिधी पौडेल, गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणी केसी, तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक केशरबहादुर बानिँयासहित १३ जना कर्मचारीविरुद्ध पनि नेपाल लगायतका नेताहरुकै सरह विगो र सजायको माग गरिएको छ।
उक्त जग्गा प्रकरणमा अख्तियारले केही समयअघि अध्यक्ष नेपाललाई अख्यिारको मुख्यालयमा बोलाएर गोप्य वयान लिएपनि त्यसलगत्तै अख्तियार स्रोतकै हवला दिएर समाचार प्रकाशित भएको थियो।