गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदको चालू अधिवेशनबाटै पारित गर्न सक्ने गरि अघि बढाउन आग्रह गरेका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नागरिकता सम्बन्धी समाधानका लागि संशोधन विधेयक महत्वपूर्ण भएकाले समितिबाट छिटै विधेयक पारित गर्न आग्रह गरेका हुन्।
कानूनी समस्याका कारण धेरै युवाहरु नागरिकताबिहीन हुनुपरेकाले सरकारले सबैको समस्यालाई समाधान गर्ने गरि विधेयक ल्याएको जानकारी उनले दिए।
उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिन थप सहजता प्रदान गर्ने, बिदेशमा जन्मेका बाबुको नाम नखुलेको स्थीतिलाई सम्बोधन गरिने जिकिर पनि गरे।
त्यस्तै उनले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिए।
समिति सभापति रामहरि खतिवडाले चालू अधिवशेनबाटै विधेयक पारित गर्ने गरि छलफल भइरहेको बताए।
अर्को बैठकमा गैरआवासीय नेपालीसंग छलफल गरिने जानकारी उनले दिए।