हिमाल दैनिक
संवैधानिक निकायका ५२ जना पदाधिकारीविरुद्धको मुद्दाको फैसला असार १८ का लागि सर्याे

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी तथा सदस्यहरुको वैधानिकतामाथि उठेको प्रश्नमाथिको अन्तिम सुनुवाई २१ दिन पछिका लागि सरेको छ। 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गठित संवैधानिक इजलासले यसअघि दुबै पक्षबाट भएको बहस र जवाफी बहस सकिएसँगै आज निर्णय सुनाउने भनि दैनिक कार्यसूचिमा पेशी चढाएपनि बुधबार साँझ निर्णय सुनाउने मिति सरेको जानकारी दिएको हो।

संवैधानिक परिषदले आजभन्दा ठिक ५२ महिना अगाडि विभिन्न संवैधिानक निकायमा नियुक्तिका लागि गरेको सिफारिस प्रक्रियाविरुद्ध परेको रिटमाथि संर्वोच्च अदालतले निर्णय सुनाउने भनिएको थियो। तर, दिनभर इजलासमा रहेका न्यायाधीशबिच फैसलाबारे छलफल चलेपनि टुंगाे नलागेपछि २१ दिनपछि अर्थात असार १८ गतेका लागि सरेकाे हाे।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदले ०७७ पुसमा पहिलो पटक संवैधानिक परिषदको ऐन नै अध्यादेशमार्फत संशोधन गर्दै विभिन्न संवैधानिक निकायमा ३२ जनालाई नियुक्तिको सिफारिससँगै संविधानको प्रावधान विपरित संसदीय सुनुवाई नै नगरी गरेको नियुक्ति प्रकरणले ०७८ जेठसम्म नै निरन्तरता पाएको थियो।

संवैधानिक परिषदमा रहेका बहुमत सदस्यको उपस्थिति र निर्णयविना नै पहिलो चरणमा ३२ जना र दोस्रो चरणमा २० गरी जम्मा ५२ जना पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा त्यतिबेलै १५ वटा रिट निवेदन सर्वोच्च अदालतमा परेको थियो।

पटक पटकको सुनुवाई पश्चात संवैधानिक इजलासमा पुगेर पनि मुद्दाको किनारा लाग्न नसेको उक्त विषयमाथि केही दिनअघि मात्रै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा दुबै पक्षको बहस र जवाफ बहस सकिएपछि आजका लागि निर्णय सुनाउने भनिएको थियो।

यसरी ५२ महिनाअघिदेखि सुरु भएको संवैधानिक प्रक्रियाविरुद्धको विवादमा परेको ५२ जना पदाधिकारीमध्ये कतिपय उमेर हदका कारण सेवाबाट बाहिरिइसकेको र कतिपय बाहिरनुअघि ५२ महिना नै पदमा रहेर जिम्मेवारी बहन गरिरहेको अवस्थामा उनीहरुको नियुक्तिलाई अदालतले वैधानिकता दिने अथवा अवैधानिक ठहर गर्दै खारेज गरिदिने भन्ने सवाल अदालतमा विचाराधिन अवस्थामा रहेको छ। 

प्रधानन्यायाधीश राउत नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्।

बिहानैदेखि उक्त इजलासमा रहेका न्यायाधीशसहित प्रधानन्यायाधीश राउतबिच छलफल चलेपनि निर्णय सुनाउन भने सकेनन्। जसको कारण निर्णय सुनाउने मिति पर धकेलिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update