सत्ता र प्रमुख प्रतिपक्षी दलबिच सदनको कारबाही सुचारु गर्न दुई बुँदे सहमति पश्चात बसेको प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विपक्षी दलहरुबिच गम्भीर विभाजन भएको छ।
पूर्वनिर्धारित समय भन्दा झण्डै चार घण्टा ढिलो गरी सुरु भएको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ विपक्षी दलका सदस्यहरु उभिएर विरोध जनाएका थिए।
त्यसपछि सभामुख घिमिरेले सबैलाई बस्न आग्रह गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई आफ्ना कुराहरु पाँच मिनेटभित्र संक्षिप्तमा राख्न समय दिए।
त्यसपछि माओवादीका सचेतक पाण्डेले माइक लिएर बोल्न खोजेपछि रास्वपा र राप्रपाका सदस्यहरुले उभिएर टेबल ठोक्दै सदन अवरोध गरे।
सभामुखले पटक पटक सबैलाई बसेर समय मिलेपछि आफ्ना कुरा राख्न भनेपछि रास्वपा र राप्रपाका सदस्यहरुले आफूहरुको आन्दोलन कायमै रहेको भन्दै पहिले आफूहरुले बोल्न समय माग गरे।
तर, सभामुखले समय दिइसकेको बताउँदै क्रमशः सबैलाई आफ्ना कुरा राख्न आग्रह गरेपनि राप्रपा र रास्वपाले पञ्चताली बजाएर विरोध जनाइरहँदा माओवादी सचेतक पाण्डेले पटक पटक सभामुखसँग आफ्ना कुरा अघि बढाउँ भन्दै अनुमाति माग्दै माइक लिएर उभिइरहे।