
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सत्ता र प्रमुख प्रतिपक्षीबिच सहमति भएपनि सदन अवरोधलाई निरन्तरता दिएका राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी र राप्रपाले शुक्रबारको बैठकमा नारावाजी र होहल्ला गरेका छन्।
आजको बैठकको सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न सभामुखले समय दिएपछि उभिएर पञ्चताली बजाउँदै अवरोध कायम गरेका रास्वपा र राप्रपा सांसदहरुले आफूले बोल्न समय पाउँदा संसदीय अभ्यास र परम्परालाई समेत ख्याल गर्न सकेनन्।
माओवादी सचेतक पाण्डेले सदन सुचारु गर्न सहमति भएको बताउँदै आफ्ना भनाई सकेलगत्तै सभामुख देवराज घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्न समय दिए।
लिङदेनले बोल्न सुरु गरेपछि राप्रपाका सदस्यहरु बसेर सुनेपनि सँगै उभिएर विरोध जनाएको रास्वपाका सदस्यहरुले भने लिङदेनले बोलिरहँदा उभिइरहे।
संसदीय परम्परा र अभ्यास अनुसार, कुनै पनि सदस्यले सदनभित्र बोलिरहँदा उभिएको खण्डमा सभामुखले सदन अवरोध भएको मान्ने मान्यता रहेको छ।
त्यसपछि रास्वपाका मनिष झालाई बोल्न समय दिएपछि राप्रपासँगै रास्वपाका सदस्यहरु पनि बसेर सुनिरहे। जबकि आफूसँगै सदनमा सत्ता र प्रतिपक्षीबिचको सहमतिको विरोधमा उभिएको राप्रपा अध्यक्ष लिङदेन बोल्दा भने रास्वपा उभिएर संसदीय अभ्यासको अनुभव र ज्ञानको अभाव रहेको प्रष्ट्यायो।
त्यसपछि सभामुखले सरकारका गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणबारे आफ्नाबारेमा उठेका विषयबारे सदनमा जानकारी दिन समय माग गरेको भन्दै बोल्न समय दिए।
तर, लेखकले बोलिरहँदा राप्रपा र रास्वापाले नारावाजी र होहल्ला गर्दै सदनमा अवरोध कायमै राखे।