
विपक्षी सांसदहरुको अवरोध र विरोधका बाबजूद प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहेको छ।
बहुचर्चित भिजिट भिसा प्रकरणलाई उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदनको कारबाही निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार जस्तै सोमबार पनि प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफललाई निरन्तरता दिए।
सोमबारको बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सदस्यहरु उठेर विरोध जनाएका थिए।
तयसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपा सचेतक सन्तोष परियारलाई क्रमशः बोल्न समय दिए।
सुरुमा लिङदेनले बोल्दै संसदीय अभ्यास र परम्परा अनुसार, संसदमा एक जना सदस्यले मात्रै पनि उभिएर विरोध जनाएको खण्डमा सदन अवरोध भएको मानिने गरिएपनि अहिले सभामुखले बहुमतको आडमा सदनको कारबाही सुचारु गरेर सदनको अविभावकीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए।
उनले भिजिट भिसा प्रकरणमा आफूहरुले उठाएको माग सम्बोधन नहुँदासम्म र विपक्षमा रहेका दलसँग सहमति कायम नगरी अवरोधकाबिच सदन चलाउने क्रममा आफूहरु बैठकमा सहभागी हुन नसक्ने भन्दै राप्रपाले आजको बैठक बहिष्कार गर्ने जानकारी दिए।
त्यसका अतिरिक्त आफूहरुले बहिष्कार गरेको संसद बैठकको भत्ता आफ्नो दलका सदस्यहरुले नलिने घोषणा गर्दै उक्त बैठक भत्ता राज्यकोषमै फिर्ता हुने व्यवस्था मिलाउन पनि आग्रह गर्दै बैठक कक्षबाट बाहिरिए।
त्यसपछि रास्वपाका सचेतक परियारले भिजिट भिसा प्रकरणको निश्पक्ष छानविन समिति गठन तथा गृहमन्त्रीको राजीनामा नआउँदासम्म आफूहरुले सदनमा अवराधे कायमै राख्ने घोषणा गर्दै वेल घेराउ र नारावाजीलाई निरन्तरता दिए।
उनले संख्याको आधारमा कसैले पनि दम्भ नदेखाउन सुझाव दिए।
राप्रपाको बहिष्कार र रास्वापको नारावाजी र वेल घेराउका बाबजूद अहिले बजेटमाथिको छलफल जारी छ।