हिमाल दैनिक
भिजिट भिसा प्रकरणले सदनको कारबाही अवरुद्ध, नाराबाजी भएपनि बैठक आधाघण्टाका लागि स्थगित

भिजिट भिसा प्रकरणको विषयलाई उठाएर निरन्तर सदनमा विरोध र अवरोध गर्दै आएका दुई विपक्षी दलले आफ्नोे विरोधको कार्यक्रमलाई निरन्तरता दिएपछि मंगलबारको प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। 

मंगलबार अपरान्ह १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा धेरे ढिलागरी सुरु भएपनि सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उठेर विरोध जनाए।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद चन्दा भण्डारी कार्कीलाई बोल्न समय दिएपछि उनले विगत केही समयदेखि भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठनको मागसँगै विवादमा परेको हुनसक्ने आशंकामा गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने भन्दै उक्त माग सम्बोधन नहुँदासम्म आफूहरुको विरोध जारी रहने बताइन्।

विश्वव्यापी मानव तस्करविरुद्धको अभियानमा प्रयोग हुने निलो रिबन गलामा बाँधेर सदनभित्र प्रवेश गरेका रास्वपाका सदस्यहरुले विरोधमा सदनभित्र पनि सामूहिक विरोध जनाएका थिए।

सांसद कार्कीले भिजिट भिसा प्रकरणमा प्रशासनको मिलोमलोमा मानवतस्करी भइरहेकाले सदनमा निरन्तर आवाज उठाइरहेको बताउँदै यस्तो मुद्दामा सरकार किन मौन बसेको हो भन्दै प्रश्न गरिन्।

साथै उनले आफुहरुले जायज माग राख्दा सरकारले रोष्टमबाट धम्काउने काम गरेको गुनासो पनि गरिन्।

त्यसपछि सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिदा रास्वपाका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी सुरु गरे।

सभामुखले उनीहरुलाई आफ्नो आसनमा बसेर सदनको कारबाही सुचारु गर्ने वातावरण बनाउन आग्रह गरेपनि रास्वपा र राप्रपाको विरोध कायमै रहेपछि आजको बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update