हिमाल दैनिक
रास्वपा सांसदको निलो रिबनप्रति कांग्रेस सचेतक घिमिरेको आपत्ति, सभामुखलाई भने उहाँहरुलाई बाहिर पठाइदिनु

भिजिट भिसा प्रकरणलाई उठाएर निरन्तर प्रतिनिधि सभाको बैठक अवरोध गर्दैआएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले बैठक कक्षभित्र घाँटीमा लगाएर गएको निलो रिबनको पहिरन संसदीय मर्यादाविपरित भएको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको छ।

अन्तराष्ट्रिय मान्यता अनुसार, निलो रिबनलाई विश्वव्यापी मानव तस्करीविरुद्धको अभियानको रुपमा मानिने गरिएकोमा आजको बैठकमा रास्वपाका सदस्यहरुले पनि घाटीमा निलो रिबन बाँधेर सामूहिक रुपमा सदनभित्र नाराबाजी र विरोध जनाएका थिए।

उनीहरुले घाँटीमा बाँधेर गएको निलो रिबनको विषयमा नियमापत्ति गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतकले सदनको मर्यादा कायम गर्न गराउन प्रतिनिधि सभा नियमावलीले दिएको अधिकार प्रयोग गरी उक्त कार्य रोक्न अथवा बैठकबाट निस्काशन गर्न माग गरे।

सदनभित्र जसले जे मन लाग्यो त्यही पहिरन र पोषाक लगाएर आउने चलनले सदनको मर्यादा कायम नरहने भन्दै घिमिरेले नियमापत्ति गरेपछि रास्वपाका सदस्यहरुले नाराबाजी गर्दै वेल घेराउ गर्न पुगे।

त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे।

 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update