
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताहरुबिच गर्ने भनिएको उच्चस्तरिय वार्ता शुक्रबारका लागि सरेको छ।
पछिल्लो समय समसामयिक विषयहरुमा छलफलका लागि सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफललाई तिब्रता दिन थालेको प्रधानमन्त्री ओलीले बिहिबार अपरान्ह साढे तीन बजेका लागि भेटवार्ताको समय मिलाएका थिए।
तर, माओवादी अध्यक्ष दाहालको अचानक अर्कै कार्यक्रममा व्यवस्थता हुँदा आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्री ओलीको सचिवालयमा पठाएपछि प्रमुख तीन दलका शीर्ष नेताको भेटवार्ता अर्कोदिनलाई सरकोको हो।
स्रोतका अनुसार, आजका लागि तय भएको बैठक शुक्रबार अपरान्ह २ बजेका लागि तय गरिएको छ।
उक्त बैठकमा विशेषगरी लामो समयदेखि टुंगिन नसकेर लम्बिँदै आएको शान्ति प्रक्रियासँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता छानविन आयोगबाट सल्टाउनु पर्ने विषयबारे छलफल र आन्तरिक सहमतिको सवालमा केन्द्रित हुने बताइएको छ।
यसका अतिरिक्त सदनभित्र देखिएको असामन्जस्यता र अवरोध हटाउनेदेखि कतिपय महत्वपूर्ण विधेयकहरुलाई के कसरी अगाडि बढाएर टुंग्याउन सकिन्छ भन्नेबारे पनि सत्ता र प्रतिपक्षी दलका नेताहरुबिच छलफल र सहमतिको प्रयास जारी रहने बताइएको छ।
बुधबार अपरान्ह मात्रै प्रधानमन्त्री ओलीले कांग्रेस सभापतिसहितका नेताहरुसँग झण्डै चारघण्टा लामो छलफल गरेका थिए।
जसमा बहुचर्चित निजामति सेवा ऐन संशोधन गर्न बनेको विधेयकमा राखिएको कुलिङ पिरियडको विषयदेखि नागरिकता ऐन संशोधन विधेयक र शिक्षा ऐन संशोधन विधेयकबारे छलफल चलेको थियो।
यसका अतिरिक्त सरकारले हालै पेश गरेको आगामी आर्थिक वर्षको वार्षिक बजेटमा राखिएको उर्जा क्षेत्रमा टेक एण्ड पे सम्बन्धि प्रावधानको विषयमा पनि छलफल भएको थियो।