राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।
भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन आयोग गठनसँगै नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै जेठ १३ गतेदेखि निरन्तर सदन र सडकमा विरोध जनाउँदै आइरहेको रास्वपा र राप्रपाका सांसदहरुले सोमबार पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेका हुन्।
बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए।
सांसद नेपालीले सरकार र मन्त्री फेरिएपनि मानवतस्करी नरोकिने भएकाले यसलाई सदाका लागि अन्त्य गर्न छानविन हुनुपर्ने अडान दोहोर्याए।
उनले भिजिट भिसा प्रकरणमा संलग्नलाई उन्मुक्ति दिने काम भएको आरोप समेत लगाए।
सरकारले आफुहरुको आवाज दवाउने प्रयास भएको भन्दै सत्य बोल्न नडराउने बताएका नेपालीले आफ्ना मागहरु सम्बोधन नहुँदासम्म विरोध कायमै रहने बताए।
सांसद नेपालीले धारणा राखेपछि सभामुख घिमिरेले सदनको नियमित कारबाही अघि बढाउने जानकारी दिँदै आजको दैनिक कार्यसूचिमा विनियोजन विधेयकमाथि मन्त्रालयगत बजेट वितरणमा सांसदहरुले राखेका प्रश्नको जवाफमा मन्त्रीले जवाफ दिने जानकारी दिनासाथ रास्वपाका सदस्यहरु वेलतर्फ नाराबाजी गर्दै दायातर्फको ढोकाबाट बाहिरिए भने राप्रपाका सदस्यहरुले पनि बैठक बहिस्कार गरे।
बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनेक्रम जारी छ।