हिमाल दैनिक
भिजिट भिसा प्रकरणबारे छानविनका लागि गठित समितिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

सरकारले भिजिट भिसाको समस्या दिर्घकालीन रुपमा नै समाधान गर्ने गरि छानविन समिति गठन गरिएको जनाएको छ। 

मंगलबार प्रतिनिधि सभा बैठकको सुरुवातमै सभामुखसँग समय लिएर गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन विभागबाट भएको भनिएको भिजिट भिसा प्रकरणबारे छानविन समिति गठन गर्न सरकारले गठन गरेको छानविन समितिका बिषयमा जानकारी दिए।

उनले भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र अनुसन्धान गरिरहेको र यस विषयमा अख्तियारको छानविन र अनुसन्धानमा आवश्यक सहयोग दिने कुरामा सहयोग प्रतिबद्ध रहेको बताए।

भिजिट भिसाको समस्याबारे विगतदेखि देखिएका समस्या समाधान गर्न नीतिगत, कानूनी र संरचनागत सुधारका लागि सत्ता र प्रतिपक्षीबिच भएको सहमति बमोजिम दीर्घकालीन रुपमै समाधान गर्ने गरि समिति गठन गरिएको जानकारी दिए।

उनले भिजिट भिसा लगायत कतिपय विषयमा समस्या विगतदेखि नै रहेको र भिजिट भिसादेखि विदेश यात्राका क्रममा देखिएका समस्या समाधान लागि मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई ३ महिनाभित्र आफ्नो प्रतिवेदन बुझाउने कार्यदेश दिइएको बताए।

यसरी गठित उच्चस्तरिय छानविन तथा अध्ययन समितिले अख्तियारको काम कारबाहीलाई प्रभावित नहुनेगरी काम गर्ने जानकारी पनि दिए।

समितिले दिएको प्रतिवेदनलाई सरकारले अक्षरस कार्यान्वयन गर्ने उनले प्रतिवद्धता जनाए।

गृहमन्त्री लेखकले समितिले अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारले गरिरहेको अनुसन्धानमा असर नपार्नेगरि काम गर्ने स्पष्ट पारे। भिजिट भिसाका बिषयमा देखिएको समस्यालाई उचित ढंगले पहिचान गरेर समाधानका लागि अल्पकालीन, दिर्घकालीन, संरचनागत सबै क्षेत्रमा आवश्यक सुधारका लागि प्रतिवेदन बुझाउने उनले बताए।

उनले अध्यागमनलाई चूस्तदुरुस्त गर्न आवश्यक कानूनी सुधार, कर्मचारी व्यवस्था सुधार लगाएतमा पनि समितिले अध्ययन गरि सुझाव दिने धारणा राखे।

सदनमा उठेका बिषयहरुलाई ठीक ढंगले पहिचान गरि निष्कर्षमा पुराउन उच्चस्तरीय समिति गठन भएको उनको भनाइ छ। 

भिजिट भिसाको मुद्दालाई लिएर विपक्षमा रहेका रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि निरन्तर सदनभित्र विरोध र अवरोध गर्दैआइरहेको छ। 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update