राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाउँदै सदन बहिष्कारको क्रमलाई निरन्तरता दिएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिकाबारे जानकारी गराएपछि दुई दलका सांसदले असहमति जनाएका हुन्।
गृहमन्त्रीले जानकारी दिएपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा स्वर्णिम वाग्लेलाई बोल्न समय दिएपछि सांसद वाग्लेले आफ्नै मान्छेलाई चोख्याउन सरकारले आफ्नै मान्छे राखेर छानविन समिति बनाएको आरोप लगाए।
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिएको अवस्थामा गृहमन्त्रीको प्रस्तावमा नै छानविन समिति बनाउने कुरा उचित नभएको जिकिर गर्दै यस प्रकरणमा संसदीय छानविन समिति वा जाँचबुझ आयोग ऐन अनुसार छानविन समिति बन्नुपर्ने माग कायमै राखे।
त्यस्तै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले बनाएको छानविन समितिले निष्पक्ष रुपमा काम गर्न नसक्ने र विधिको शासन स्थापीत गर्न नसक्ने दाबी गरे।
भिजिट भिसा प्रकरणमा संलग्न रहेका मन्त्रीहरुलाई उन्मुक्ति दिनका लागि सरकारले नयाँ कदम चालेको भन्दै उनले यसका बिरुद्ध सदन र सडकबाट निरन्तर विरोध गर्ने बताए।
सरकारले बनाएको छानविन समितिले पीडितलाई न्याय दिन नसक्ने दाबी पनि गरे।
आफ्ना धारणा राखेपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका छन्। मन्त्रीपरिषद्को सोमबारको बैठकले भिजिट भिसा प्रकरणको छानविन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।
उता संसदको प्रमुख प्रतिपक्षी दल नकेपा माओवादी केन्द्रले भने भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ।
बैठकमा माओवादी उपमहासचिव बर्षमान पुनले जेठ ३० गते माओवादीसंग भएको दुई बुदे सहमति अनुसार सरकारले छानबिन समिति बनाएको भन्दै धन्यवाद दिए।
उनले भिजिट भिसा प्रकरणमा अख्तियारले समेत अनुसन्धान गरिरहेको अवस्थामा अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर रहेका जनताका बिषयलाई सरकारले गठन गरेको समितिले अध्ययन गर्ने विश्वास व्यक्त गरे।
उनले जनताको सुझाव अनुसार समितिले प्रतिवेदन बुझाउने विश्वास व्यक्त गर्दै प्रतिपक्षीको हैसियतले माओवादीले पनि खवरदारी गरिरहने धारणा राखे।
पुनले लोकतन्त्र गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था रहेको भन्दै लोकतन्त्रलाई सुदृढ र दिगो बनाउन यसमा देखिएका समस्याहरुलाई समाधान गर्दै जानुपर्ने बताए।