हिमाल दैनिक
टेक–एण्ड–पे ले राम्रो गर्ला भनेर राखेको नराम्रो होला जस्तो लागेपछि हटाइयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा टेक–एण्ड–पे को अवधारण राम्रो होला कि भनेर राखिएको भएपनि अहिले यसले राम्रो नगर्ला कि जस्तो भएपछि हटाइएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग लगायतका विभिन्न निकायमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री ओलीले थप स्पष्टिकरणका क्रममा यस्तो जवाफ दिएका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसको आपत्ति पश्चात सरकारले उर्जा मन्त्रालयको बजेट विनियोजनका क्रममा राखिएको टेक एण्ड पे सम्बन्धि व्यवस्था हटाएर अघि बढ्ने सहमति भएबमोजिम अर्थमन्त्रीले त्यसलाई परिमार्जन गरेको विषयमा विपक्षी दलका सदस्यहरुले प्रधानमन्त्री ओलीसँग पहिले यो व्यवस्था किन राखिएको थियो र अहिले किन हटाइयो भनि प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘पहिले राम्रो गर्ला कि भनेर राखिएको थियो, पछि यसले नराम्रो गर्ला कि जस्तो लागेपछि हटाइयो।’

त्यसैगरी कतिपय सदस्यहरुले प्रधानमन्त्री ओलीसँग असम्बन्धित विषयहरुमा जस्तो भौतिक पूर्वाधार मन्त्रालय, पर्यटन मन्त्रालय, उर्जा जस्ता मन्त्रालयको विषयदेखि परराष्ट्र मन्त्रालयसँग र शिक्षा मन्त्रालयको विषयमा पुनः प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्बन्धित मन्त्रालयको विषयमा सम्बन्धित मन्त्रीसँग गर्ने प्रश्न प्रधानमन्त्रीसँग गरिनुले सांसदको गरिमा र स्तर नजोगाउने सुझाव दिएका थिए।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update