राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोलप्रसाद अर्यालले भिजिट भिसा प्रकरणमा विवादमा परेको भनिएको सुमिरे टुर्स एण्ड ट्राभल्स कम्पनी आफ्नै भएको स्वीकारोक्ति दिँदै आफ्नाविरुद्ध उत्रिएका सांसदविरुद्ध व्यक्तिगत गालीगलौजमा उत्रिएका छन्।
शनिबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर्स एण्ड ट्राभल्स कम्पनीले विगत १० दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा निरन्तर मानिसहरु पठाइरहेको भन्दै उक्त कम्पनी कसको हो? भन्दै छानविनको माग गरेका थिए।
विगत ३३ दिनदेखि भिजिट भिसा प्रकरणलाई लिएर सदनको कारबाही अबरुद्ध पार्दै र बैठक बहिष्कार गर्दै आएको रास्वपाले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि उक्त प्रक्रियालाई निरन्तरता दिने क्रममा अर्यालले आजको अभिव्यक्ति आफ्नै प्रतिरक्षा र खतिवडाको खिलाफमा केन्द्रित गरे।
बैठकको सुरुमै आकस्मिक समय लिएर बोल्दै अर्यालले आफूलाई काम गरेर खाने र आफ्ना विरुद्ध आवाज उठाउनेहरु चोरेर खानेहरुको संज्ञा दिँदै आफ्नाविरुद्ध निराधार आरोप लगाउने कार्य भएको दाबी गरे।
साथै उनले राजनीतिलाई पेशा बनाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरुले आफ्नो पेशा, व्यवसाय गरेर खानेहरुमाथि गम्भीर आरोप लगाउन पछि नपरेको भन्दै खतिवडाप्रति व्यक्ति लाञ्छनामा उत्रिए।
उनले थप्दै भने, ‘मलाई दया लाग्छ, २०४८/४९ सालतिर कोही मन्त्रीका पीए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरेवापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरु पनि यही सदनमा सांसद भएर बसिरहेका छन्, सभामुख महोदय। अरुलाई आक्षेप लगाउनेहरु भिसा पाए भने आफैँ टाप कस्लान्।’
खतिवडाले भिजिट भिसाका नाममा अवैध रुपमा जापान पठाउँदै आएको उक्त कम्पनीको संचालकबारे गरेको प्रश्नको जवाफमा अर्यालले भने, ‘हो म गर्भका साथ सुमिरे टुर्स एण्ड ट्राभल्स मेरो कम्पनी हो सभामुख महोदय।’
रास्वपाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुपूर्व श्रृष्टि ओभरसिज इम्प्लोएमेन्ट सर्भिसेज कम्पनीको अन्तर्राष्ट्रिय व्यवस्थापन निर्देशकको रुपमा क्रियाशील अर्यालले सांसद भएपछि भने उक्त कम्पनीको वेभसाइटबाट आफ्नो नाम हटाएका थिए।
म्यानपावर कम्पनीसँगै टुर्स एण्ड ट्राभल्स कम्पनीका मालिक समेत रहेका अर्यालले सदनमा आइतबार बोल्दा भने आफू यहि देशमा केही गरेर खाने मान्छु भएको दाब िगर्दै अरु जस्तो चोरेर खाने मान्छे नभएको जवाफ फर्काए।
त्यतिमात्र होइन, केही वर्षअघि घडी काण्डमा मुच्छिएका खतिवडाप्रति लक्षित गर्दै उनले थपे, ‘मेरो समय ठिकै चलेको छ, अरुको घडीको समय बिग्रीएको छ भने म के भनौँ? मेरो कम्पनीमा मात्र १ जना मान्छे भिजिट भिसामा जापान मात्र होइन, संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौँ र फर्किएका छैनन् भने प्रमाण पेश गर्न चुनौति दिन्छु। होइन भने, निराधार आरोेप संसदको रेकर्डबाट हट्नु पर्छ। म योे सभामुखज्यूबाट रुलिङको माग गर्दछु।’
साथै उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी कसैको जिल्लाको कर्मचारी वा कसैको सचिवालय संचालनको स्रोत व्यवस्थापक परेछ भन्दैमा आफूहरु आन्दोलनबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे।