नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा संलग्न भएको हुनसक्ने ट्राभल्स कम्पनीको नाम लिँदैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु तर्सिर ‘चोरको खुट्टा काट्...’ भनेजस्तै स्थितिमा देखिएको आरोप लगाएका छन्।
शनिबारको प्रतिनिधि सभा बैठकमा आफूले सुमिरे टुर्स एण्ड ट्राभल्स कम्पनीले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाको नाममा अवैध मानिसहरु पठाइरहेको भन्दै त्यसबारे छानविनको माग गर्दा आइतबारको बैठकमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल आफूविरुद्ध व्यक्तिगत गालीगलौजमा उत्रिएकोमा आपत्ति प्रकट गरे।
आइतबारको प्रतिनिधि सभा बैठकको सुरुमा अर्यालले उक्त कम्पनी आफ्नै भएको भन्दै खतिवडाविरुद्ध किर्ते कागज गरेर सजाय पाएकोदेखि घडी काण्डको विषय समेत उठाएर चोरहरुलाई काम गरेर खानेहरुले जवाफ दिनुपरिरहेको भन्दै आपत्ति जनाएका थिए।
व्यक्तिगत लाञ्छनामा अर्याल उत्रिएपछि त्यसको प्रतिवाद गर्दै खतिवडाले सभामुख देवराज घिमिरेसँग समय माग गरेका थिए।
घिमिरेले अर्यालको भनाई सक्किएपछि मात्रै खतिवडालाई बोल्न समय दिए।
सदाझै सदनको नियमित कारबाहीमा अवरोध गर्दै नाराबाजी गरेर बाहिरिने क्रममा रहेका अर्यालसहित रास्वपा सांसदहरुले वेल घेर्दैगर्दा खतिवडाले आफूले हिँजो कुनै सदस्यको नाम नलिई उक्त कम्पनी कसको मात्रै भनेकोमा आज चोरले खट्टा झिकेजस्तो भएको प्रतिक्रिया दिए।
उनले भने, ‘हामीले कुनै माननीय सदस्यको नाउँ किटान गरेर भनेका थिएनौँ। चोरको खुट्टा काट भन्दा खुट्टा झिकेजस्तो गरेर केही माननीयजीहरु प्रस्तुत हुनुभयो। आज पन िअनुरोध गर्न चाहन्छु, हामीले कुनै पनि संस्थालाई छानविन गर्न पर्छ भन्दा किन ठूलो डाँको स्वरले संसद थर्काउन सकिन्छ?’
आफ्नाविरुद्ध अर्यालले लगाएको आरोपको खण्डन गर्दै उनले कनै बेला हामी अदालतबाट निर्दोष प्रमाणित भएर संसदमा प्रतिनिधित्व गरेको दाबी गर्दै ‘तर, आज दोषी भएर अझै पनि तिनै मानछेहरु ठूलो स्वरमा यहाँ कराउँदा हाम्रो आपत्ति छ। हामीले निश्पक्ष छानविन गरौँ, दोषी भए कारबाह िगरौँ, निर्दोष भए उहाँलाई स्वागत गरौँ।’
साथै उनले विगतमा आफैँ म्यानपावर कम्पनीमा रहेर काम गरेको र पछि श्रम मन्त्री हुँदा गैरकानूनी रुपमा म्यानपावर कम्पनीलाई इजाजत पत्र दिएको आरोप समेत लगाए।
उनले भने, ‘हिँजो जुन म्यानपावर कम्पनीहरुमा काम गर्ने, म्यानपावर कम्पनीहरुलाई दलाल मार्फत सुविधा दिने २०९ वटा म्यानपावर कम्पनीहरुलाई श्रममन्त्री हुँदा अवैध रुपमा संचालन हुने अनुमति दिने को मान्छे, को श्रममन्त्री थियो, त्यो छानविन गर्न माग गर्दछु।’
साथै खतिवडाले आफ्नाविरुद्ध अर्यालले व्यक्त गरेका असंसदीय शब्दहरु रेकर्डबाट हटाउन पनि माग गरे।
खतिवडाका अतिरिक्त नेकपा माओवादी केन्द्रका सदस्य अमनलाल मोदी र नेकपा एसका कृष्णकुमार श्रेष्ठले पनि सदनभित्र सांसदहरुले मर्यादित ढंगले आफ्ना धारणा राख्नु पर्ने माग गरेपछि सभामुख घिमिरेले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए।