
कर्मचारीको सरुवा र भूमि आयोगमा नियुक्तिका लागि विचौलियासँग घुस डिल गरेको अडियो सार्वजनिक भएलगत्तै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
पोखराको एक सरकारी कार्यालयको कर्मचारीको सरुवासँगै कास्की जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्तिको विषयमा विचौलियासँग ७८ लाख घुस मागेको अडियो प्रकरणको चौतर्फी आलोचना भएपछि मंगलबार मन्त्री गुप्ताले सामाजिक संजालमार्फत आफूले नखाएको विष लाग्दा त्यसैको शिकार भएको भनदै पदबाट राजीनामाको घोषणा गरेका हुन्।
उनले आफ्नो स्टाटस्मा भनेका छन्, ‘बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ। कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए। अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननिय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु।’
गुप्ताको विवादस्पद अडियो प्रकरणको विरोधमा संसदभित्र र बाहिर स्वयं सत्तापक्षकै नेताहरुले चर्को आलोचना गर्दै उनलाई तत्काल बर्खास्त गर्न र अनुसन्धानमार्फत दोषी देखिए कानून बमोजिम कारबाही गनै प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्दैआएका थिए।
त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले सोमबार उनलाई बोलाएर उक्त प्रकरणबारे २४ घण्टाभित्र स्पष्टिकरण दिन अथवा चित्त नबुझे राजीनामा दिन सुझाव दिएका थिए।
ओलीले दिएको समयसीमा गुज्रिन नपाउँदै मंगलबार मन्त्री गुप्ताले प्रधानमन्त्रीलाई आफ्नो राजीनामा पत्र दिएर अब अनुसन्धानको प्रतिक्षामा रहेको जानकारी गराएका छन्।
साथै उलने आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्म बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु। अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु।’