हिमाल दैनिक
भिजिट भिसा प्रकरणमा घुस डिल जोड्दै विरोधमा उत्रिएका रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
file photo

भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले मंगलबार पनि प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै बहिष्कारको प्रकरणलाई निरन्तरता दिएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए। 

उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन्। रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए।

सांसद नेपालीले कर्मचारीको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिमा विचौलियासँग भएको घुस डिल सम्बन्धी अडियो प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको अवस्थामा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिने नैतिकता देखाउन नसकेको आरोप लगाए।

उनले भिजिट भिसा प्रकरणमा छिटो भन्दा छिटो उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने भन्दै समिति गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहेको बताए।

सरकारले बनाएको समितिबाट अपराध ढाक्ने प्रयास भइरहेको आरोप पनि उनले लगाए।

त्यस्तै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले घुस प्रकरणको अडियो सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरि छानविन गर्न माग गरे।

उनले प्रधानमन्त्रीको क्यावीनेटले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउँदै न्याय नपाए गोरखा जानु भन्ने पुरानो उखानको सट्टा भ्रष्टाचार गर्न चाहे सरकारमा जानु भन्ने अवस्था आएको आरोप लगाए।

सांसद शाहीले बोलेपछि एमाले सचेतक सुनिता बरालले नियमापति गरिन्।

उनले प्रधानमन्त्रीमाथि शाहीले तथ्यहिन आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन माग गरिन्।

समग्र सरकार र सरकारको नेृतत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै उनले आपत्ति जनाएपछि सभामुख घिमिरेले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए।

 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update