
बागमती प्रदेश अन्तरगत नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले दलभित्र विश्वासको मत गुमाएका छन्।
०७९ सालको प्रदेश सभा निर्वाचन लगत्तै बागमती प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक तर्फबाट ३७ सदस्यीय प्रदेश सभा सदंसदीय दलको नेतामा २१ मत प्राप्त गर्दै निर्वाचित भएका लामाविरुद्ध प्रदेश सभा सदस्य एवं बागमती प्रदेश कांग्रेस सभापति समेत रहेका इन्द्रबहादुर बाँनियाको नेतृत्वमा दर्ता भएको अविश्वासको प्रस्ताव बमोजिम लामाले विश्वास गुमाएका हुन्।
केन्द्रीय कार्यसमितिको तर्फबाट परिवेक्षकका रुपमा खटिएर गएका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको उपस्थितिमा मंगलबार अपरान्ह भएको दलको नेतामाथिको अविश्वास प्रस्तावमाथिको निर्णय प्रक्रियामा लामाले जम्मा १५ मत प्राप्त गरे।
उनको विपक्षमा कांग्रेसका २२ सदस्यले मत दिएपछि कांग्रेसको तर्फबाट प्रदेशको मुख्यमन्त्री रहेका लामाले दलको नेता पद भने गुमाएका छन्।
प्रदेश सरकारको बजेट निर्माणको प्रक्रियादेखि चर्किँदै गएको प्रदेश सभाभित्रको आन्तरिक विवाद गत शुक्रबार सतहमा आएको थियो।
जसमा प्रदेश सरकारमा सहभागी रहेको चार जना मन्त्रीले समेत पदबाट राजीनामा गर्दै लामाको विपक्षमा हस्ताक्षर गर्दै बाँनियाको अभियानमा सहभागी भएपछि कांग्रेसभित्र गम्भीर विवाद बाहिर आएको थियो।
दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि निर्णयार्थ मतदानको प्रक्रिया सुरु हुनु अघि केन्द्रीय परिवेक्षक केसीले सहमतिको प्रयास गरेपनि विफल भएपछि मतविभाजनको प्रक्रियामार्फत लामाले दलको नेता पद गुमाएका हुन्।
पार्टीको प्रदेश सभा विधानको व्यवस्था बमोजिम अब कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा पुनः नयाँ प्रक्रियामार्फत दलको नेताको चयन हुने छ।