चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको सुख्खा पहिरोका कारण चितवनबाट राजधानी आउने र उपत्यकाका अतिरिक्त पोखराबाट पूर्व–पश्चिम जाने सवारीसाधनहरु बिचबाटैमा अलपत्र परेका छन्।
पछिल्लो समय चितवनको उक्त क्षेत्रमा माथिबाट निरन्तर पहिरो खसिरहँदा सडक खुलाउने कार्यमा पनि कठिनाई भइरहेको छ।
पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था रहेपनि एकतर्फी भएपनि सडक आवागमन संचालनमा ल्याउनको लागि प्रयासरत रहेको सडक डिभिजन भरतपुरले जनाएको छ।
शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि आइतबार पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो र पनि अझै सडक खुल्न सकिरहेको छैन।
पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्। यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई बिभिन्न निकायको सहकार्यमा निःशुल्क खाना र खाजा वितरण गरेका छन्।