हिमाल दैनिक
सरकारसँगै र दलको नेता बदल्ने खेलमा नलागेको नेता कोइरालाको स्पष्टोक्ति

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफु नलागेको स्पष्टिकरण दिएका छन्।

बुधबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफुले अन्य दलको नेताहरुलाई भेट गरेपनि सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको दाबी गरेका हुन्।

केही दिनअघि नेता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि पूर्वराष्ट्रपति जो राष्ट्रपति पदमा बहाल रहँदा पनि नेकपा एमालेको सदस्यता कायमै रहेको दाबी गर्दै अहिले पुनः पार्टी राजनीतिमा फर्किन सबैखाले कोशिश जारी राखिरहेकी विद्यादेवी भण्डारीसँग गरेको भेटवार्ता लगत्तै कांग्रेस संसदीय दलको नेतासँगै वर्तमान सत्ता गठबन्धन बदल्ने गृहकार्यको रुपमा व्यापक चर्चा पाएको थियो।

त्यसलगत्तै नेकपा एमाले पार्टीले भण्डारीको पुनः पार्टी राजनीतिमा फर्किने चाहानासहितको सदस्यता नविकरणको प्रकरणलाई अस्विकार गर्दै पार्टीमा फर्किन नदिने निर्णयले सत्ता फेरबदलको चर्चा सेलाएसँगै नेता कोइरालाले आफू सरकार र दलको नेता बदल्ने खेलमा आफू नलागेको बताएका हुन्।

उनले भने, ‘वर्तमान सत्ता गठबनधन ०८४ सालसम्मै जाओस् तर, सरकार राम्ररी चल्नु पर्यो। सरकार राम्रोसँग चल्न सकिरहेको छैन।’

आफ्नो राजनीतिक भेटघाट र छलफलबारे स्पष्ट पार्दै राजनीतिक दलका नेताहरुले अन्य राजनीतिक दल र दलका नेताहरुकाबिचमा निरन्तर भेटघाट र छलफल चलाउँदै जानु पर्ने भन्दै त्यसलाई स्वभाविक राजनीति भएको बताए।
कसैले गोप्य र लुकेर अन्य दलका नेताहरुसँग भेटघाट गरेको भए त्यो बेग्लै कुरा भएपनि आफू लुकेर भेटघाट र छलफल गर्ने नेता नभएको बताए।

सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेता कोइरालाले सभापति देउवा कांग्रेसको मात्रैैै नेता नभई मुलुककै सबैभन्दा वरिष्ठतम् नेता भएको बताए।

देउवाप्रति लक्षित गर्दै उनले भने, ‘तपाई नेपाली कांग्रेसको मात्रै नेता होइन। तपाई नेपालकै वरिष्ठत् नेतामध्ये एक हुनुहुन्छ। अझै भनौैँ, एक पनि होइन, तपाई नै हो। यसो सोच्नुहोस् त, अरु भन्दा उहाँको उमेरले पनि, राजनीति गरेको हिसाबले पनि सबैभन्दा सिनियर त उहाँ नै हो नि त,’ भन्दै नेता कोइरालाले थपे, उहाँले त सबैलाई घरैमा बोलाएर भएपनि भेट्नु पथ्यो। ‘उहाँले भेट्नु भएन भनेर हामीले पनि नभेट्ने त हुँदैन।’

कांग्रेस संसदीय दलको नेता बदल्ने चर्चाप्रति लक्षित गर्दै नेता कोइरालाले संसदीय दलको नेता फेर्नका लागि संख्या चाहिने उल्लेख गर्दै यो कुरा त्यसै हुँदैन भन्ने कुरा सभापति देउवाले पनि बुझेको हुँदा धेरै चिन्ताको विषय नभएको बताए।

भण्डारीलाई राष्ट्रपति पदमा हुँदा पनि भेटेको र त्यसपछि पनि उनको घरमा गएर भेटिरहेको भन्दै तर, आफ्नो भेटलाई मिडियाले ज्यादा चर्चाको विषय बनाएको बताए।

नेकपा माओवादी केन्द्रसँगको सत्ता साझेदारीका समयमा आफूले एमाले अध्यक्ष ओलीलसँग पनि निरन्तर भेटवार्ता गरेपनि त्यसबारे चर्चा नभएको भन्दै अहिले बढी चर्चामा आएको बताए।

साथै कोइरालाले जुन कारणले कांग्रेस र एमालेबिच सत्ता साझेदारीको सहमति भएको थियो त्यो राजनीतिक कारण सरकारको कामबाट जनतालाई पुष्टि गर्नु पर्नेमा जोड दिए।

कोइरालाले सरकार गठनपूर्व भएको सात बुँदे सहमतिमध्ये संविधान संशोधनको सवाल त परको कुरा एउटा पनि बुँदा कार्यान्वयनमा नगएको बताए।

कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संसोधनलाई प्राथमिकतामा राखेको भएपनि अहिले सम्म संविधान संसोधनका लागि कार्यदल नबनाएको गुनासो गरे।

यसका अतिरिक्त पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा र्फकन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउदै संविधानले यस विषयमा नबोलेकोले संविधान संसोधन आवश्यक रहेको जिकिर गरे।

पछिल्लो समय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपतिबाट पुनर्विचारका लागि फर्काइएको संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक के कति कारणले फर्काउनु पर्यो भन्नेबारे राजनीतिक दल र संसदले गम्भीर भएर विचार गर्नु पर्ने बताए।

त्यसैगरी बहुचर्चित निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउदै यसमा राजनैतिक दलका शीर्ष नेताहरुले चलखेल गरिरहेको आशंका व्यक्त गर्दै भूमि सम्बन्धी कानून संशोधन विधेयकलाई पनि संसदको विषयगत समितिले गम्भीर बहस र सहमतिसहित परिमार्जन गरी पास गर्नु पर्ने बताए।

 

प्रकाशित मिति: बुधबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update