
नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बाँनिया निर्वाचित भएका छन्।
हाल कायम रहेको प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध मंगलबार विश्वासको मत पारित गराउँदै बुधबार भएको दलको नेताको निर्वाचनमा बाँनियाले निवर्तमान दलका नेता एवं मुख्यमन्त्री लामालाई पराजित गर्दै दलको नयाँ नेतामा निर्वाचित भएका हुन्।
बागमती प्रदेशमा सभामा रहेका कुल ३७ सदस्यमध्ये बुधबार अपरान्ह भएको मतदानमा बाँनियाले २२ मत प्राप्त गर्दै दलको नेतामा निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्धी लामाले जम्मा १४ मत प्राप्त गरेको कांग्रेसका प्रदेश सभा सदस्यले बताए।
खसेको ३७ मतमध्ये एक मत भने बदर भएको छ।
यसअघि प्रदेश सभाको निर्वाचन लगत्तै दलको नेताका लागि भएको निर्वाचनका क्रममा भने लामाले बाँनियालाई ५ मतको अन्तर अर्थात २१ मत प्राप्त गर्दै दलको नेतामा निर्वाचित भएका थिए। तर, केन्द्रिय सत्ता समिकरणमा आएको बदलाब लगत्तै बागमती प्रदेश सरकारको नेतृत्व गर्न पुगेका लामाले गत वर्षको साउन ८ गतेदेखि प्रदेश सरकारको नेतृत्व गर्दै आएका थिए।
विगत एक वर्षको अवधिमा प्रदेश सरकारको कार्यशैलीसँगै गत असारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा गम्भीर भेदभाव गरेको भन्दै प्रदेश सभा सदस्यहरुले उनीविरुद्ध हस्ताक्षर अभियान नै चलाएका थिए।
जसको निर्णय मंगलबार मत विभाजनको माध्यमबाट गर्दा दलको नेतामा विश्वास गुमाएका लामा आज फेरि दलको नेताका लागि दाबी गर्दै प्रतिस्पर्धामा उत्रिएपनि मंगलबारको भन्दा पनि एक मत कम पाउँदै दलको नेताबाट पाखा लागेका छन्।
कांग्रेसको तर्फबाट प्रदेश सरकारको नेतृत्व गरिरहेका लामालाई अब दलको नेता पद गुमाएसँगै सरकारको नेतृत्व कायम गरिराख्ने वा मार्ग प्रसस्त गरिदिने भन्ने राजनीतिक र संवैधानिक भन्दा पनि नैतिक दबाब बढेको छ।