हिमाल दैनिक
दयनीय शान्ति सुरक्षा, मौसमको प्रतिकूलताले फागुन २१ को निर्वाचनप्रति आश्वस्त छैनन् देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी निर्वाचनका लागि तयार रहेपनि सरकारले तोकिएकै मितिभित्र निर्वाचनको वातावरण तयार गर्न नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

अन्तरिम चुनावी सरकारका प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको दूतका रुपमा शुक्रबार बिहान सभापति देउवालाई महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँगको वार्ताका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन्।

सरकारमा प्रवक्ता खरेलसँगको वार्ताका क्रममा सभापति देउवाले एकातिर मुलुकको शान्ति, सुरक्षाको अवस्था कमजोर रहेको र अर्कोतर्फ देशका करिब २ दर्जन हिमाली जिल्लामा हिउँ पर्नुकासाथै तराईमा शीतलहरको मौसमी प्रतिकूलतामा फागुन २१ गतेको निर्वाचन भयरहित वातावरणमा स्वच्छ र निश्पक्ष ढंगले सम्पन्न गर्न कसरी सम्भव छ भन्ने प्रश्न राखेको सभापति देउवा निकट स्रोतले बतायो।

सरकारको तर्फबाट निर्वाचनको वातावरण बनाउन कुनै कमि नहुने भन्दै सरकारका प्रवक्ता खरेलले सभापति देउवालाई शनिबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफलमा डाकेको निम्ता दिएका थिए।

प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग समसामयिक राजनीतिक परिस्थिति र आसन्न निर्वाचनको विषयमा छलफलका लागि शनिबार बोलाउन निम्तो लिएर सरकारले गठन गरेको राजनीतिक सम्वाद समितिका सदस्य एवं मन्त्री खरेललाई पठाएकी थिइन्।  

सरकारको नेतृत्व लिँदैगर्दा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुप्रति चरम कुण्ठा र घृणायुक्त अभिव्यक्ति दिँदै उनीहरुको मुख पनि हेर्न मन नभएको भन्ने गरेकी प्रधानमन्त्री कार्कीले पछिल्लो समय दल र दलका नेताको साथ र समर्थनको महत्व बुझ्दै गएपछि आफ्नो अभिव्यक्तिलाई व्यवहारबाटै बदल्ने कार्यको थालनी गरेकी थिइन्। 

यही क्रममा केही दिनअघि प्रमुख तीन दलका शीर्ष नेताहरुसँग राजनीतिक भेटवार्ताको चाँजोपाँजो मिलाईदिन राष्ट्रपति रामचन्द्र पौडेलको साहारा लिँदै शीतल निवासमा देउवासहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग सरकारको नेतृत्व लिएपछि पहिलो पटक सम्वादको थालनी गरेकी थिइन्।

लामो समयको सम्वादहिनतालाई तोड्न सफल भएपछि प्रधानमन्त्री कार्कीले शुक्रबार सरकारका प्रवक्ता खरेललाई देउवाका अतिरिक्त एमाले अध्यक्ष ओली र नेकपाका अध्यक्ष दाहाललाई पनि भेटवार्ता गरी शनिबारको बैठकमा आमन्त्रण गर्न पठाइसकेकी छन्। 

 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update