नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवाहरुको माग र मुद्दा सम्बोधन गराउन आफुले विगत लामो समयदेखि नै निरन्तर आवाज उठाउँदै आएको बताएका छन्।
विराटनगरमा युवाहरुसंग आइतबार अन्तक्रिया गर्दै नेता कोइरालाले नवयुवा (जेन–जी) आन्दोलन अघिबाटै पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफुले काम गरेको दावी गरे।
जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्पाम्पेन फर क्लिन पोलिटिक्स’को अभियानमा लागेको बताए।
कोइरालाले भने, ‘युवाको माग र मुद्दामा मैले केही कञ्जुस्याई गरिन।’ जेन–जी आन्दोलन भन्दा धेरै अघिदेखि नै युवाहरुको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफुले जोड दिदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन क्लष्टरमा बाँढेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ। जस अनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ। त्यो हुन सक्दा मात्रै युवाहरुलाई यहि देशमा राख्न सकिन्छ, भन्ने मेरो बुझाई हो।’
युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौं महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए।
नेता कोइरालाले भने, ‘मुलुकलाई विकाससंगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ।’



