नवनिर्वाचित प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले उम्मेदवारी दर्ता गराएका छन्।
गत फागुन २१ गतेको निर्वाचन पश्चात गठित प्रतिनिधि सभाका सदस्यहरुले केही दिनअघि पद तथा गोपनीयताको सपथ लिएलगत्तै बिहिबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकले चैत २२ गते प्रतिनिधि सभाका सभामुखको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न संसद सचिवालयलाई निर्देशन दिएको थियो।
सोही अनुसार, संसद सचिवालयले शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ताको कार्यतालिका राखेकोमा प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमतसहितको पहिलो ठूलो दल रास्वपाले आफ्नो पार्टीका उपसभापति एवं सांसद सदस्य अर्याललाई सभामुख बनाउने निर्णय गरेअनुसार मनोनयन दर्ता गराएको हो।
शुक्रबार सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा पुगेर अर्यालले उम्मेदवारी दर्ता गराएका हुन्।
अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
सभामुखका लागि शुक्रबार मनोनयन र आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ।
यसैबिच प्रिितनिधि सभामा प्रमुख प्रतिपक्षी दलको रुपमा उपस्थित नेपाली कांग्रेसले भने सत्तारुढ दलका उम्मेदवारविरुद्ध कुनै उम्मेदवार खडा नगर्ने निर्णय निकालेको छ भने तेस्रो दलका रुपमा रहेको नेकपा एमालेले आफ्नो दलका सदस्यमध्ये गुरुप्रसाद बराललाई उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरिरहेको बताइएको छ।

