हिमाल दैनिक
सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन विदा दिने सरकारी निर्णय

नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणमा देखिएको असहजतालाई ध्यानमा राख्दै सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिने घोषणा गरेको हो।

मन्त्रिपरिषदको बैठक पश्चात सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै भने, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण यही चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार विदा दिने तथा शैक्षिक संस्थाहरुबाहेक अन्य कार्यालयहरुको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरिएको छ।’

मध्यपूर्वको खाडी क्षेत्रमा विशेषगरी इरानविरुद्ध अमेरिका र इजरायलले गरेको सैन्य कारबाही र त्यसको प्रतिक्रियामा भएको जवाफी कारबाहीका कारण हर्मुज क्षेत्रबाट कच्चा तेल तथा इन्धन आपूर्तिमा विश्वबजार प्रभावित हुँदै गइरहेको छ। 

जसको कारण भारतीय आयल निगममार्फत इन्धन आपूर्ति गर्दै आएको नेपाल आयल निगमले आपूर्ति व्यवस्थामा सहजता ल्याउन नसक्ने स्थिति बनेपछि सरकारले वैकल्पिक उपायका रुपमा सरकारी कार्यालयमा हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

विगतमा पनि ०५६ सालको तत्कालीन सरकारले पनि सरकारी कार्यालयमा हप्ताको दुई दिन विदा दिने निर्णय गरेको थियो। जुन कार्यान्वयनका क्रममा खासै प्रभावकारी नदेखिएपछि सरकारले उक्त निर्णय सच्याएको थियो।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update