हिमाल दैनिक
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त

नेपाल सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ। 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डोटी निवासी भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

नेपाल राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक भट्टलाई यसअघिको सरकारका पालामा राष्ट्र बैंकको गभर्नर बनाउने विषयमा चर्को विवाद र राजनीतिक खिचातानी भएपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य विश्व पौडेललाई नै गभर्नर बनाएको थियो। 

गभर्नर बन्नका लागि आवश्यक योग्यता र कार्यक्षमतामा कुनै कमि नभएपछि आन्तरिक खिचातानीले पछि परेका भट्टलाई रास्वपा नेतृत्वको सरकारले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

यसैगरी मन्त्रिपरिषद बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको मन्त्री रावलले जानकारी दिइन्।

यसका अतिरिक्त बैठकले नेपाल राष्ट्र बैंकको रिक्त दुई डेप्युटी गभर्नर पदमध्ये एकमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम र सदस्य ललिता कुमारी महर्जन एवं धुर्व आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको उनले बताइन्।

त्यस्तै मन्त्रिपरिषद्ले ललितपुरको पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी नगरपालिका वडा नम्बर तीनमा स्थानान्तरण गर्ने र जल तथा ऊर्जा आयोगको सचिवालयको कार्यालयलाई पुल्चोकमा स्थानान्तरण गर्ने निर्णय गरेको छ भने नागढुङ्गा सुरुङ मार्गको पश्चिम खण्ड क्षेत्रमा पर्ने धुन्बेसी नगरपालिका वडा नम्बर ९ मा रहेको रहेको करिब ९ रोपनि निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

बैठकले पासाङल्हामु राजमार्गको बेत्रावती धुन्चे स्याफ्रुबेसी सडक खण्डको बुनुवा घुम्तीमा पर्ने उत्तरगया गाउँपालिका–५ मा रहेको करिब दुई रोपनि निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ। 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update