हिमाल दैनिक
‘मैले काम मात्र गरेको हुँ’
5f5ec2f3e796e_Untitled-1
काठमाडौँ, भदौ २९ गते । ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन । कतिसम्म भने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि लोडसेडिङ मुुलुकको नियति नै भएको विश्वास गर्थे । तर उज्यालो नेपाल सम्भव भयो, लोडसेडिङ हट्यो, कुलमान ‘सेलिब्रेटी’ बन्नुभयो । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री जनार्दन शर्माले ऋणको भार र खस्केको साखका बीच प्राधिकरण भित्रैबाट क्षमतावान् व्यक्ति खोजेर घिसिङलाई कार्यकारी निर्देशक बनाउनुभयो । त्यो नियुुक्ति प्राधिकरणको अवनतिलाई उन्नतिमा रूपान्तरण गर्ने योजनाको सुुरुवात थियो । त्यसका लागि समग्र सरकार र नेपाली जनताको पूर्ण समर्थन रह्यो । सातौँ तहको इन्जिनियरका रूपमा प्राधिकरणको सेवामा प्रवेश गरेका घिसिङ कार्यकारी निर्देशकको भूमिका सफल बनाउँदै आइतबारबाट बिदा हुनुभयो । आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरेर जाँदै गर्दा उहाँले गोरखापत्रसँग भन्नुभयो, “संस्थागत सफलता एउटा व्यक्तिले हात पार्ने कुरा होइन; उसको इच्छा शक्ति, माथिको नेतृत्व र सहकार्य गर्ने टिमले सफलता दिलाउने हो । मैले काम मात्र गरेको हुँ ।” उहाँले सविस्तार भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री र सरकारका अन्य नेतृत्वको निर्देशन एवं मार्गदर्शन र ऊर्जामन्त्री तथा मन्त्रालयको योजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धि हासिल भएका हुन् ।” यो खबर आजको गोरखापत्रबाट लिएका हौ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update