हिमाल दैनिक
नेपालमा आइतबार थप २९३ जना कोरोना संक्रमित फेला परेका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका २९३ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आइतबार थप १३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् यो सहित डिस्चार्ज हुनेको संख्या ६५४७ पुगेको छ । कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमले हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको बताए । यसैबीच मन्त्रालयले ढलको पानीमा कोरोना भाइरसको जीवाणु भेटिँदैमा समुदायमा संक्रमण भएको भन्न नमिल्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता गौतमले ढलमा भाइरस देखिएकै भरमा समुदायमा संक्रमण भएर जटिल अवस्थामा पुग्यो भन्न नमिल्ने बताए । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा ढलको पानीमा कोरोना भाइरस भएको वा नभएको बारेमा अनुसन्धान गर्ने पनि प्रवक्ता डा. गौतमले जानकारी दिए । हालै एक संस्थाले गरेको अध्ययनमा काठमाडौंको ढलमा कोरोना भाइरसको जीवाणु भेटिएको बताएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update