कोरोना संक्रमणको दर स्थिर भयो भन्दैमा ढुक्क नहुनू, संक्रमण अझै बढ्छ

जतिबेला नेपालमा कोरोना महामारीको खासै असर थिएन, त्यतिबेला सरकारले लकडाउनको आदेश जारी गर्यो। आम नागरिकले त्यसको करीव करीव पूर्णरूपमा पालना गरेर कोरोना नियन्त्रणमा सरकारको प्रयासलाई साथ पनि दिए। तर, जब देशमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गयो, सरकारले जारी गरेको लकडाउन आदेशको जनस्तरबाटै अवज्ञा हुन थाल्यो। सरकारले पनि आदेशको आंशिक कार्यान्वयन गराउनबाहेक केही गर्न चाहेन।
यस्तो अवस्थाका बाबजूद असार मसान्त सुरू भएदेखि नै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर स्थिर छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विगत १७ दिनको आंकडामा परीक्षण, संक्रमितको संख्या र प्रतिशत केही तलमाथि भए पनि संक्रमणको अनुपातः सामान्यतयः ६ देखि १० प्रतिशतकै हाराहारीभित्र रहेको देखिन्छ।
सबैभन्दा बढी असार १२ गते परीक्षण गरिएको नमूनाको १२.२ प्रतिशतमा रहेको छ भने असार ६ गते सबैभन्दा कम ४.४६ प्रतिशतमा संक्रमण देखिएको छ।
त्यो बाहेक ३ दिन कूल नमूना परिक्षणको १० प्रतिशतभन्दा माथि संक्रमण देखिएको छ। बाँकी दिनमा यसैको सेरोफेरोमा संक्रमितको संख्या रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस व्रिफिङमा असार १८ गते बिहीबारसम्म को तथ्यांक अनुसार, २ लाख ३७ हजार ७ सय ६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। ती मध्य १४ हजार ५ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। जुन ६.१० प्रतिशत हो।
मिति परीक्षण संक्रमण प्रतिशत
[table id=12 /]
यसरी असार मसान्तमा देखिएको संक्रमितको अनुपात कायम रह्यो भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो।
संक्रमितको संख्यालाई ध्यानमा राखेर गरिएको परिक्षण भन्दा पनि नेपालमा पीसीआर विधिबाट भइरहको कोरोना भाइरस परीक्षण गर्ने क्षमताका आधारमा भइरहेको परिक्षणको गतिका कारण संक्रमणको दर स्थिर देखिएको चिकित्सकहरु बताउँछन्।
केही अपवादलाई छाड्ने हो भने, अहिलेसम्म नेपालमा जे जति परिक्षण भइरहेको छ त्यो अधिकांश क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको मात्रै पीसीआर विधिबाट परीक्षण गरिएकोले पनि दर स्थिर हुन सक्ने विज्ञहरु बुझाइ छ।
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा कार्यरत सरुवा रोग विशेषज्ञ, डा. अनुप सुवेदीले नेपालमा पीसीआर विधिबाट परीक्षण गर्न सक्ने क्षमताका आधारमा नमूना परीक्षण गरिएकाले संक्रमण दरमा केही स्थिरता देखिएको हुन सक्ने बताउँछन्।
‘संक्रमण दरको अनुपातमा नभई हामीले हाम्रो क्षमताका आधारमा पीसीआर परीक्षण गरिरहेका छौ,’ सुवेदीले भने, ‘दिनमा ६ हजारको हाराहारीमा नेपालमा परीक्षण गर्ने क्षमता छ, त्यही आधारमा परीक्षण गरिएको छ। एउटा त्यो कारण र अर्को परीक्षण गरेको समुदाय पनि निश्चित भएकाले संक्रमणको दर स्थिर भएको हुनसक्छ।’
यो पनि पढ्नुहोस: स्वास्थ्य मन्त्री संसदलाई ढाँट्न, मन्त्रालय मन्त्रीको बचाउँमै व्यस्त
अहिले कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९५ प्रतिशत विदेशबाट त्यसमा पनि विशेषगरी भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु नै बढी छन्। आक्कलझुक्कल क्वारेन्टाइन बसेर घर फर्किएकामा संक्रमण देखिएर उनीहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा बाहेक अरुको पीसीआर परीक्षण नभएकोले पनि यो दर स्थिर देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु यो संक्रमणको अनुपात स्थिर हुनाको कारण र अझै कोरोनाको संक्रमण दर फैलन्छ वा घट्दै जान्छ भन्नेबारेमा केही आकलन गर्न नसक्ने अवस्थामा छन्।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल अहिले आफूहरुको ध्यान क्वारेन्टाइनमा केन्द्रित रहेको बताउँछन्। ‘हाम्रो फोकस क्वारेन्टाइनमै छ। क्वारेन्टाइनमा बसेकाहरुलाई निको गराएर पठाउन सकेको खण्डमा संक्रमण दर घट्छ भन्ने हाम्रो बुझाई हो। समुदायस्तरमा धेरै ठूलो प्रतिशत अहिलेसम्म नभेटिएकाले हामी क्वारेन्टाइनमा फोकस भइरहेका छौं,’ विशेषज्ञ पोखरेलले भने, ‘साउन पहिलो सातासम्म संक्रमण बढ्ने र त्यसपछि विस्तारै घट्दै जान सक्ने सभ्वाना रहेको हाम्रो आकलन छ। त्यही अनुरुप व्यवस्थापनका काम गरिरहेका छौं। ठयाक्कै यस्तै हुन्छ भन्ने छैन।’
विश्वमा कोरोनाले आक्रान्त भएका चीन र युरोपेली मुलकको तथ्यांक हेर्ने हो भने संक्रमणको दर स्थिर भएको दुई सातासम्म संक्रमणको दर बढेको त्यसपछि मात्रै केही घटेको पाइन्छ।
अमेरिकामा त केही दिन स्थिर देखिएर पुनः बढेको पाइन्छ। अझ नेपालमा त क्वारेन्टाइनमा रहेकाको परीक्षण गरिएकाले समुदायस्तरमा गर्दा अझै संक्रमण बढ्ने बताउँछन्। लकडाउन पूर्ण रुपमा खुल्यो र मानिसको आवतजावत बढ्यो भने संक्रमण बढ्न सक्ने चिन्ता डा. सुवेदी व्यक्त गर्दछन्।
‘लकडाउन पूर्ण रुपमा खुल्यो र सार्वजनिक सवारी साधन चलेर मानिसको आवागमन बढ्यो भने संक्रमणको दर बढ्छ,’ उनी भन्छन्।
सरकार पनि बढ्छ भन्नेमा विश्वस्त छ। तर, तयारी भने त्यस अनुरुपको गर्न सकेको छैन। ‘साउनको पहिलो हप्तासम्म २५ देखि ३० हजारबीचमा संक्रमितको संख्या पुग्छ भन्ने हाम्रो आकलन छ,’ प्रमुख विशेषज्ञ पोखरेलले भने, ‘त्यही आधारमा आवश्यक व्यवस्थापन गरिएको छ। बन्दोबस्तीका सामान, आइसीयु, आइसोलेसनका बेडहरु त्यसकैको अनुपातमा तयार गरिएको छ। त्यसपछि घट्छ भन्ने हाम्रो आकलन छ।’
जबकी केही दिन अघि नियमित पत्रकार प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयले नेपालमा संक्रमितको संख्या ९० हजार बढी पुग्ने आंकलन गरिएको बताएका थिए। अहिले ३० हजारसम्मको व्यवस्थापनले कसरी थेग्न सक्ने हो त्यो भन्न सक्ने अवस्था छैन।
यो पनि पढ्नुहोस: कोरोनाको महामारीमा पनि राजनीति!
विशेषज्ञ पोखरेल संक्रमणको दर जनसंख्याको ०.५ प्रतिशत भन्दा कम नै छ भनेर मन्त्रालयले क्याल्कुटेट गरिरहेका बताउँछ। त्यो पनि संक्रमण भएका ठाउँहरुमा मात्रै हुने र अन्य स्थानमा त्यो भन्दा ज्यादै नै कम हुने उनी बताउँछन्।
मन्त्रालयको यस्तो व्यवस्थापनमा कोरोनाको बढ्दो कहरबाट नागरिक कसरी बच्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ।
प्रवक्ता डा. गौतम नागरिक सचेत भएमा संक्रमण अब घट्दै जान सक्ने दाबी गर्दछन्। ‘धेरैलाई रोगबाट बच्न के गर्नुपर्छ भन्ने जानकारी भइसक्यो। सचेत भए, रोगबाट बचिन्छ, नागरिक सचेत भए घट्दै जान्छ,’ उनी भन्छन्।
(फ्रिडम फोरमको सहयोगमा तयार पारिएको सामाग्री)
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय