हिमाल दैनिक
कोरोनाको परीक्षणबिना रिपोर्ट, नागरिकको स्वास्थ्यमाथि खेलवाड
shukraraj-tropical
शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९) को आशंकामा परीक्षणका लागि आएका नागरिकलाई ओपीडी टिकट काटेपछि तीन भागमा छुट्टयाउँछ- पीसीआर परीक्षण गर्ने, आरडीटी परीक्षण गर्ने र लक्षण नदेखिएको भन्दै लेखेर पठाउने। पहिलो, जोखिम उच्च भएका स्थानबाट आएका, संक्रमितसँग सम्पर्क गरेका र कोरोनाको लक्षण ज्वरो आउने, श्वासप्रश्वासमा समस्या र खोकी लाग्नेलाई पीसीआर परीक्षण गर्ने लाइनमा राखिन्छ । दोस्रो, जोखिम भएको क्षेत्रबाट आएको हो तर, संक्रमितसँग सम्पर्क देखिएको छैन। कोरोनाका धेरै प्रकारका लक्षणमध्ये कुनै एउटा पनि लक्षण स्पष्ट देखिन्न। कतै कतै एउटा लक्षण हो कि, हो कि जस्तो लाग्यो भने आरडीटी परीक्षण गर्ने लाइनमा राखिन्छ। तेस्रो घर छोडेर कतै नगएको, घरबाट सिधै आफ्नो साधनमा उपत्यका भित्रिएको हो। कोरोनाका कुनै पनि लक्षण देखिदैन भने त्यो व्यक्तिलाई परीक्षण गरिदैन। ड्यूटीका डाक्टरले कोरोनाका लक्षण ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने र खोकी लाग्ने नदेखिएको भनेर ओपीडी टिकटमा लेखेर पठाउँछ। लकडाउनका कारण उपत्यका बाहिर गएका र लकडाउनपछि फर्कदा घरबेटी र काम गर्ने कार्यालयले कोरोना परीक्षणको रिपोर्ट माग्दा नागरिक परीक्षणका लागि अस्पताल पुग्छन्। अस्पतालले लक्षण नदेखिएको भनेर ओपीडी टिकटमै निगेटिभ लेखेर पठाउँदा नागरिक उल्टै त्रसित छन्। ओपीडीको टिकट काट्न आफ्नो नजिकमा लाइनमा बसेको मान्छेमा संक्रमण रहेछ भने परीक्षण नगरी जाँदा कतै सर्ने त होइन भन्ने त्रासमा नागरिक हुन्छन्। कपिलबस्तुबाट आइतबार बिहान काठमाडौं फर्किएर शंखमुलस्थित रूममा पुग्दा घरबेटीले कोरोना परीक्षणको रिपोर्ट मागेपछि अस्पताल पुगेर फर्किएका युवा भन्दै थिए, ‘घरबेटीले परीक्षण गर्न भनेकाले अस्पताल पुगेको थिए। लामो लाइनमा बसेर टिकट काटे। तर, डाक्टरले सामान्य सोधपुछ गरी परीक्षण नगरेर निगेटिभ रिपोर्ट लेखेर पठाइदिए। रिपोर्ट घरबेटीलाई बुझाइयो। तर, लाइनमा नजिक बसेकालाई संक्रमण रहेछ भने कतै सर्ने त होइन भन्ने डर लागिरहेको छ।’

यो पनि पढ्नुहोस् : टेकुमा परीक्षण गर्न जाने कि, संक्रमित भएर फर्कन?

अस्पतालमा कोरोना संक्रमणको आशंकामा उपचारका लागि लामो लाइन बसेर ओपीडी टिकट काट्नेलाई यसरी परीक्षण बिना नेगेटिभ भनेर लेखि पठाएर नागरिकलाई सिधै राज्य र अस्पतालले ठगेको जनस्वास्थ्यविदहरू बताउँछन्। तर, अस्पतालका डक्टरहरू भने राज्यले बनाएको निर्देशिका अनुसार काम गर्नु आफूहरुको दायीत्व भएकाले त्यही अनुरुप काम गरिरहेको बताउँछन्। अझ जनस्वास्थ्यविदहरू त आरडीटी होइन पीसीआर नै परीक्षण गरेर कोरोना नेगेटिभ छ भनेर लेखेर पठाउनुपर्ने बताउँछन्। स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशनक डा. लक्ष्मीराज पाठकले लक्षण नदेखिएको भन्दै परीक्षण बिनै निगेटिभ छ भनेर लेखि पठाउनु व्यवहारिक, वैज्ञानिक कुनै पनि कोणबाट उपयुक्त मान्न नसकिने बताउँछन्। ‘संक्रमणको आशंकामा अस्पताल पुगेर लाइनमा बस्दै ओपीडी टिकट काटेका नागरिकलाई ज्वरो छ कि छैन, खोकी लाग्छ कि लाग्दैन, श्वासप्रश्वासमा समस्या छ कि छैन भनेर सोधेकै भरमा छैन भन्ने लेखेर पठाइ नागरिकको स्वास्थ्यमाथि अस्पताल र सरकारले खेलवाड गरिरहेको छ,’ पूर्वमहानिर्देशक पाठकले भने, ‘सोधेकै आधारमा कोरोना छैन लेख्न वैज्ञानिक आधारमा त मिल्दै मिल्दैन। व्यवहारिक कारणबाट हेर्दा पनि उचित होइन।’ जनस्वास्थ्यविद डा.समिरमणि दिक्षित परीक्षणबिना कोरोना छैन भनेर लेखि पठाउनु सरासर मानिसलाई झुक्याउने काम भएको बताउँछन्। ‘परीक्षण बिना कोरोना नभएको लेखेर पठाउनु सरासर मान्छेलाई झुक्याउने काम हो। यसमा शुक्रराज ट्रपिकल सरूवा रोग अस्पताल मात्रै दोषी छैन,’ डा. दिक्षित भन्छन्, ‘राज्यको माथिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिरहेको छ। मन्त्रालयले डब्ल्यूएचओको मापदण्ड विपरित आफूखुसी बनाएको गाइडलाइनका कारण यस्तो भएको हो। आफूले काम गर्न नसक्ने र कमजोरी लुकाउन नागरिकलाई आफ्नो अधिकार प्रयोग गर्नबाट बञ्चित बनाउने काम मन्त्रालयले गरिरहेको छ।’

यो पनि पढ्नुहोस्: कोरोना संक्रमणको दर स्थिर भयो भन्दैमा ढुक्क नहुनू, संक्रमण अझै बढ्छ

तर शुक्रराज ट्रपिकल सरूवा रोग अस्पताल भने आफूले राज्यले बनाएको नीति र निर्देशिका अनुसार काम गरिरहेको बताउँछ। अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले सरकारले बनाएको निर्देशिका अनुरूप आफूहरूले काम गरिरहेको बताए। ‘सरकारले निर्देशिका बनाएको छ। त्यही निर्देशिका अनुरूप काम गर्ने हाम्रो दायीत्व हो, हामीले त्यही अनुरूप काम गरिरहेका छौं,’ डा. पुनले भने, ‘निर्देशिकामा कोभिडको लक्षण ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या नदेखिएका विरामीलाई परीक्षण नगर्ने उल्लेख छ। त्यही अनुसार लक्षण नदेखिएकालाई लक्षण नभएको ओपीडी टिकटमा लेखेर पठाउँछौं।’

यो पनि पढ्नुहोस्: स्वास्थ्य मन्त्री संसदलाई ढाँट्न, मन्त्रालय मन्त्रीको बचाउँमै व्यस्त

जनस्वास्थ्यविदहरूले राज्यले समयमै कोरोना परीक्षणका लागि आवश्यक पर्ने सामाग्रीको जोहो गर्न नसक्दा भएको कमजोरी ढाकछोप गर्न नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिरहेको बताउँछन्। अहिले राज्यसँग भएका कोरोना परीक्षण गर्ने मेसिन आवश्यक सामाग्री नहुँदा थन्किएको उनीहरुको भनाइ छ। ‘री–एजेन्ट, आइएनए एक्ट्रयाक्सन किट, भिटिएम नहुँदा भएका पीसीआर मेसिन खाली भएर थन्किएका छन्। स्वास्थ्य सामाग्रीको जोहो गर्नतर्फ बेलैमा ध्यान नदिएको सरकार आफ्ना कमजोरी लुकाउन डब्ल्यूएचओको मापदण्ड विपरित गाइडलाइन आफ्नो हिसावले हेरफेर गरेर लक्षण नदेखिएकालाई परीक्षण नगरी पठाउने भनिरहेको छ, त्यो जनताप्रतिको धोका हो, नागरिकको स्वास्थ्यप्रतिको खेलवाड हो ।’ डा. दिक्षित सरकार आफूले परीक्षणका लागि आवश्यक सामाग्रीको जोहो गर्न नसक्ने र निजीलाई पनि परीक्षण गर्न नदिने नीतिका कारण नागरिकले दुःख पाउनु परेको बताउँछन् । ‘सरकार आफू परीक्षण गर्न आवश्यक पर्ने सामाग्री जुटाउन सक्दैन । निजी अस्पतालले काम गर्छौ भन्दा पनि अनुमति दिँदैन। त्यतिमात्र होइन सरकारी अस्पतालमा पनि आफूले चाहेका भन्दा अन्यलाई परीक्षण गर्न दिँदैन। समस्या यसैले उब्जाएके हो,’ डा. दिक्षितले भने, ‘प्रयोगशालामा गएर आफू निगेटिभ छु भन्ने परीक्षण गर्न पाउने नागरिकको अधिकार हो । चाहना राख्नेलाई परीक्षण गराउने दायीत्व राज्यको हो, त्यसबाट राज्य उम्कन मिल्दैन ।’ परीक्षण गर्न सबैले पाउनुपर्ने र राज्यले पीसीआर परीक्षण गरेर फलानो व्यक्तिको पीसीआर परीक्षण गर्दा कोरोनाको रिपोर्ट नेगेटिभ देखिएको छ भन्ने नै रिपोर्ट दिनुपर्ने तर्क डा. दिक्षितको छ। ‘नागरिकमाथि राज्यले आफ्नो फाइदाका लागि पीसीआर गर्न नदिएर अन्याय गरिरहेको छ। यो व्यवस्था सच्याइनुपर्छ। परीक्षण खुल्ला गरिनुपर्छ। जो कोहीले पनि परीक्षण गर्न चाहन्छ भने उसको परीक्षण गरिदिने जिम्मा राज्यको हो, त्यसबाट राज्य उम्कन पाउँदैन,’ डा. दिक्षितले भ ।

यो पनि पढ्नुहोस्: कोरोनाको महामारीमा पनि राजनीति!

परीक्षण नै नगरी लक्षण देखिएको छैन भन्ने रिपोर्ट सरकारी अस्पतालले नै लेखेर दिनु कतिको उपयुक्त हो भन्ने प्रश्नमा डा. पुनले घुमाउरो जवाफ दिए, ‘मैले यतातिर त बोल्न नमिल्ला। राज्यले बनाएको नियम भित्र बसेर हामीले काम गर्नुपर्छ। सकभर हामीले विरामीलाई यो रोग लागेको छ कि छैन भन्ने लक्षण के हो भन्ने सोधेर हो पत्ता लगाउने, त्यो हामीले गरिरहेका छौ।’ अझ डा. पाठक र दिक्षित त डब्ल्यूएचओले प्रमाणित नगरेको आरडीटी पनि परीक्षण गर्न नहुँने बताउँछन्। आरडीटीले एन्टीबडी मात्र देखाउने तर, भाइरसको अवस्था नदेखाउने डा. पाठकले बताए। उनले भने, ‘आरडीटीले संक्रमण भएको छ भन्ने देखाउँछ, कहिलेबाट भएको हो र कति संक्रमण छ भन्ने देखाउँदैन। तसर्थ यसलाई क्रिटिकल्ली उपचारका लागि प्रयोग गर्नु उपयुक्त हुँदैन । यो स्क्रिनिङमा मात्रै काम लाग्ने हो।’ शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक प्रा.डा.सागरराज भण्डारीले नागरिक अस्पतालमा पुगेर संक्रमित भएर फर्कने अवस्था नरहेको भन्दै आवश्यकता अनुरुप परीक्षण गर्ने र रिपोर्ट लेखेर दिने गरेको बताए। ‘यहाँ आएर सक्रमित भएर फर्कने अवस्था छैन । हामीले राज्यले बनाएको गाइडलाइन अनुरूप नागरिकलाई भरपर्दो सेवा दिने प्रयास गर्छौ,’ उनले भने । परीक्षण नगरी पठाइएकोबारे प्रश्न गर्दा उनले लक्षण नै नभएकालाई परीक्षण गर्न आवश्यक नहुने दाबी गरे। यद्यपी अधिकांशमा लक्षण बिना नै परीक्षण गर्दा संक्रमण देखिएको छ।

(फ्रिडम फाेरमकाे सहकार्यमा तयार पारिएकाे सामाग्री)

यस सम्बन्धि अन्य समाचार:

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update