हिमाल दैनिक
कोरोना महामारीको त्रासदी र लकडाउनको मारमा पनि सरकारले आफ्ना समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गरेका निजी तथा संस्थागत विद्यालयहरुले बन्द गरेको अनलाइन शिक्षण प्रक्रिया पुनः सुचारु गर्ने भएका छन्। चैत ११ गतेदेखि तीन महिना पूर्ण रुपले र असारदेखि आंशिक रुपमा लकडाउन आदेश कार्यान्वयन गरेको सरकारले उक्त अवधिमा सरकारी विद्यालयका कर्मचारीलाई नियमित तलब सुविधा दिएपनि निजी स्कूलका शिक्षक तथा कर्मचारीको सवालमा भने कुनै चासो नदिएपछि निजी तथा संस्थागत विद्यालयका साझा संस्था प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि अनलाइन कक्षा पनि बन्दको घोषणा गरेका थिए। यो पनि पढ्नुहोस्:
सरकारी अकर्मण्यताले शैक्षिक क्षेत्र तहस-नहस हुँदैछ: सांसद श्रेष्ठ

तर, सरकारले मंगलबार रातीदेखि लकडाउन आदेश खुला गर्दै विद्यालयहरुको भर्ना प्रक्रिया अर्को महिनादेखि सुरु गर्न अनुमति दिने निर्णय गरेपछि निजी स्कूलहरुले दबाबको रणनीतिमा अपनाएको अनलाइन कक्षा बन्द पुनः सुरु गर्न तयार भएका हुन्। प्याब्सनका पदाधिकारीहरुका अनुसार, आजै मात्र अभिभावकहरुसँगको परामर्शपछि उनीहरुको आग्रह र विद्यार्थीको भविश्यप्रति जिम्मेवार भएर आफूहरुले तत्काल बन्द गरिएको अनलाइन कक्षा सुचारु गर्ने निर्णय गरिएको बताइएको छ। यसरी अनलाइन कक्षा कहिलेदेखि सुरु गर्ने भन्नेबारे विद्यालयहरुको संस्थागत लिखित निर्णय आजै सार्वजनिक गर्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update