हिमाल दैनिक
व्यवस्थापनमा ध्यानै नदिई पुनः चार्टर्ड उडानको अनुमति!
hima-dainik
सरकारले व्यवस्थापकीय रूपमा कुनै तयारी नगरी पुनः विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन उद्धार उडानको अनुमति दिएको छ।  यसअघि कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन जेठ २९ गतेदेखि साउन ८ गतेसम्म उद्धार उडान गरिएको थियो। अहिलेसम्म भएका २ सय ३१ अन्तर्राष्ट्रिय उद्धार उडानबाट स्वदेश फर्किएका ३५ हजार ८ सय ४ नेपालीको उचित व्यवस्थापन हुन नसक्दा कोरोना समुदायमा फैलने सम्भावना बढिरहेको बेला थप व्यवस्थापकीय तयारी बिना पुनः उद्धार उडानको अनुमति दिइएको हो। भारतसहित २९ मुलुकबाट उडान हुँदै स्वदेश फर्किएकामा कोरोना संक्रमण देखिएको थियो । छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले शुक्रबारबाट साउन २४ गते सम्म (जुलाई ३१ बाट अगष्ट ८) ५४ उडानलाई नेपालमा ल्याण्ड गर्ने अनुमति दिएको हो। तयारी बिना उद्धार उडानको अनुमति दिएको भन्दै आलोचना हुने डरले सीसीएमसीले निर्णय सार्वजनिक गरेको छैन। मुलुकभरका बिभिन्न स्थानमा आएको बाढी पहिरोले ठाँउ–ठाँउमा राजमार्ग अवरुद्ध भएको भन्दै साउन ८ गतेसम्म रोकिएका उद्धार उडान शुक्रबारबाट पुनः सुरू गर्न अनुमति दिइएको हो । अनुमति पाएका उडानले विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा स्वदेश र्फकाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसी र परराष्ट्र मन्त्रालयको सिफारिसमा भने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विशेष उडानको अनुमति दिँदै आएको थियो। त्यही विशेष अनुमतिसहित बुधबारसम्म भएका २ सय ३१ उडानबाट भारतसहित २९ मुलुकबाट उडान हुँदै नेपाल फर्किएका ३५ हजार ८ सय ४ नेपाली फर्किएका हुन्। पछिल्लो समय कोरोना संक्रमण देखिएका अधिकांश तीनै उडानबाट नेपाल फर्किएका र उनीहरुको सम्पर्कमा रहेका छन् । सीसीएमसीले विदेशबाट आएकामध्ये ५७ जना अस्पतालमा भर्ना भएका र २६ हजार ५ सय २८ आफ्नो प्रदेशमा फर्किएका जानकारी दियो । आएकामध्ये १ हजार १ सय ६३ जना क्वारेन्टाइनमा बसेका ३ हजार ८ सय ८७ जना होम क्वारेन्टाइनमा बसेका सीसीएमसीले जानकारी दिएको छ । सीसीएमसीको निर्णय अनुसार जापान, मलेसिया, चीनको कुनमिङ, अष्ट्रेलिया, साउदीको जेद्दा, दुबई, रियाद, कुबेत, कतार, दमाम, अबुधाबी र सारजाहाबाट नेपालीलाई स्वदेश फर्काइने छ। अनुमती पाएका मुलुक र शहरहरुमा रहेका नेपालीलाई नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, जजिरा एयरलायन्स, इतिहाद एयर, एयर अरेबिया, फ्लाई दुबई, कतार एयर र मालिन्दो एयरले उनीहरुकै खर्चमा नेपाल ल्याउने छन् । नेपाल बायुसेवा निगमले तयार पारेको फ्लाइट सेड्युल अनुसार नेपाली र विदेशी एयरलाइन्सले नौ दिनसम्म प्रत्येक दिन ६/६ वटा उडान भर्नेछन् । प्रत्येक दिन नेपालका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई २/२ ओटा र विदेशी एयरलाइन्सलाई २ ओटा उडानको अनुमति दिइएको छ । विदेशबाट स्वदेश फर्किने नेपालीहरुले पीसीआर र आइडीटी परीक्षण गरी निगेटिभ भएको स्वास्थ्यकर्मीबाट प्रमाणित प्रमाणपत्र पेस गर्नुपर्ने, नेपाल आएपछि सरकारको नियमानुसार क्वारेन्टाइनमा बस्नुपर्ने र सरकारले बनाएको स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने बायुसेवा निगमले जनाएको छ। स्वास्थ्य प्रोटोकलमा होम क्वारेन्टाइनको पनि व्यवस्था रहेकाले होम क्वारेन्टाइनमा बस्दा सबै नियम पालना नगर्नाले संक्रमणको जोखिम हुने जनस्वास्थ्यबिदहरु बताउँछन्। जनस्वास्थ्यविद डा.समिरमणि दिक्षितले एयरपोर्टबाट ल्याण्ड गर्दा बित्तिकै पीसीआर परीक्षण गरेर निगेटिभ आएपछि मात्रै क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाउँदा उपयुक्त हुने भए पनि त्यसो गर्ने व्यवस्था सरकारले नमिलाउदा समस्या देखिएको बताए। ‘नेपालमा ल्याण्ड गर्दा वित्तिकै पीसीआर परीक्षण गर्ने र निगेटिभ देखिएपछि मात्रै क्वारेन्टाइनमा सरकारले बनाएको स्वास्थ्य प्रोटोकल अनुसार पठाउदा स्वास्थ्यका दृष्टिकोणले ठिक हुन्छ । तर, सरकारले पहिला १४ दिन क्वारेन्टाइनमा राखेर लक्षण देखिएपछि मात्र परीक्षण गर्छ, त्यसले समस्या पारेको छ,’ डा. दिक्षितले भने, ‘पहिला विदेशबाट उद्धार गरेकाको व्यवस्थापन राम्रो हुन नसक्दा अहिले समुदायमा संक्रमण फैलने सम्भावना देखिएको छ। विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेकालाई संक्रमण देखिएको छ। अहिले फेरि व्यवस्थापन चुस्तदुरुस्त नबनाई पुनः उद्धारको अनुमति दिइएको छ । यसले झन समस्या पार्ने सम्भावना देखिएको छ ।’ स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठकले व्यवस्थापन बिना पुनः विदेशबाट नेपालीहरुको उद्धार गर्दा समस्या बल्झिन सक्ने बताए। ‘पहिला व्यवस्थापन फितलो हुँदा, अहिले विस्तारै विदेशबाट उद्धार गरिएका र उनीहरुको सम्पर्कमा रहेकाहरुमा संक्रमण देखिन थालेको छ । अहिले पनि पहिलाको व्यवस्थापनमा सुधार नगरी पुनः उद्धार गर्दा समस्या बल्झिन्छ,’ उनले भने। सरकारले भने शुक्रबारबाट उद्धार गरिने नेपालीलाई पनि पहिलाजस्तै प्रदेशगत रुपमा छुट्टाइएका होल्डिङ सेन्टरमा राख्ने र सम्बन्धित प्रदेशको जिम्मा लगाउने व्यवस्थापन मिलाएको छ । यो कार्य सबै नेपाली सेनाको संयोजनमा हुनेछ । उद्धार उडानको अनुमति दिइएको नौ दिनको अवधिमा अमेरिका, दक्षिण कोरिया, युरोपबाट नेपालीलाई स्वदेश उद्धार गर्नुपर्ने भएमा परराष्ट्र मन्त्रालय र सीसीएमसीको सिफारिसमा अनुमती दिइने सहसचिव लामिछानेले बताए। चैत ९ गतेदेखी रोकिएको अन्तर्राष्ट्रिय व्यवसायिक उडान भदौं १ गतेदेखी सुचारु गर्ने निर्णय गरीसकेको छ ।

(फ्रिडम फोरमसँगको सहकार्यमा तयार पारिएको सामाग्री)

फ्रिडम फोरमसँगको सहकार्यमा तयार पारिएका अन्य सामाग्री:
परीक्षण घटाएर संक्रमण नबढेको प्रचार गर्दैछ सरकार
२  कोरोनाको परीक्षणबिना रिपोर्ट, नागरिकको स्वास्थ्यमाथि खेलवाड
३ टेकुमा परीक्षण गर्न जाने कि, संक्रमित भएर फर्कन?
४ कोरोना संक्रमणको दर स्थिर भयो भन्दैमा ढुक्क नहुनू, संक्रमण अझै बढ्छ
५ कोरोनाको महामारीमा पनि राजनीति!
६ स्वास्थ्य मन्त्री संसदलाई ढाँट्न, मन्त्रालय मन्त्रीको बचाउँमै व्यस्त
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update