हिमाल दैनिक
कोरोनाको कहरमा गाईजात्रा
gai-jatra
काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा मंगलबार गाईजात्रा पर्व मनाइएको छ । यस पर्वमा बर्षभरी दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ । काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प-यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ । कोभिड – १९ को संक्रमण वढ्दै गएपछि यसपटकको गाईजात्रा सामान्य तरिकाले मनाइएको छ । त्यस्तै भक्तपुरका नेवार समुदायले सोमबार सामान्य तरिकाले पनि गाईजात्रा पर्व मनाएका छन् । गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । तर यस बर्ष कोरोना महामारीका कारण बिशेष हुने भक्तपुरको गाइजात्रा सामान्य तरिकाले मनाइएको हो । भक्तपुरमा आठ दिनसम्म गाइजात्रा मनाउने प्रचलन छ । जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाई नगर परिक्रमा गरिन्छ । गाई वा ताःमचा वनाई नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्दछन् ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update