कोरोना भाइरस संक्रमणको गति चुलिँदै नियन्त्रण बाहिर जान थालेपछि सरकारले उपत्यकाका तीन जिल्लासहित देशका विभिन्न भागमा सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा पुनः जोर-विजोरको नियम लागू गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयले बुधबार साँझ सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयहरुलाई विशेष निर्देशन जारी गर्दै अति आवश्यक काममा बाहेक सबै सार्वजनिक तथा निजी सवारी साधान संचालनमा जोर-विजोर नियम लागू गर्ने निर्ण गरेको हो।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बढुाले जारी गरेको ५ बुँदे निर्देशनमा काठमाडौं उपत्यका र कोभिड–१९ को २ सय भन्दा बढी संक्रमित केश भएका जिल्लामा यो नियम भोलिदेखि लागू गर्ने निर्देशन दिइएको छ।
साथै उपत्यका प्रवेशमा अत्यावश्यक ढुवानी बाहेक अन्य सबै सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आगमनमा कडाइका साथ निषेध गरिएको छ।
त्यसैगरी बढ्दो संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार, मास्क नलगाउने अथवा मापदण्डको उलंघन गर्ने व्यक्ति, समूह अथवा संघ, संस्थाहरुलाई कडा कारबाहीको निर्देशन दिइएको छ।
यसका अतिरिक्त कोरोना संक्रमणको जाखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र थप परिक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। सरकारले निर्णय गरी आगमनको अनुमति पाएका व्यक्ति बाहेका बाँकीलाई अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत गर्न पनि कडाइका साथ निषेध गरिएको छ।
त्यसैगरी होटल, रेष्टुरेण्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्यमा पनि सरकारले निषेध गरेको छ।
हिँजैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा जनस्वास्थ्यविदहरुले सरकारलाई तत्काल लकडाउ आदेश जारी गर्नेदेखि परिस्थितिको गम्भीरता र आवश्यकता अनुसार निर्णय लिने सुझाव दिएका थिए।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय