अत्यावश्यक काम बाहेक उपत्यकाका सिडिओ कार्यालयमा सबै सेवा बन्द

काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेका छन्।
तीनै जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएका नियमित सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले सरकारले लागू गरेको सवारी साधानमा जोर–बिजोर तथा हिँड्डुललाई थप कडाइका साथ कार्यन्वयन गर्ने निर्णय गरेको छ। जिल्ला समन्वयन समिति काठमाडौंमा भएको संयुक्त छलफलले निजी क्षेत्र तथा अन्य कार्यालयलाई पनि भीडभाड र चहल पहल कम हुने गरी काम सञ्चालन गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काम मात्रै हुने गरी बाँकी सबै काम बन्द गरिने भएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संक्रमण फैलिन नदिन उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेक नागरिकता, राहदानी जारी गर्ने सेवा पनि बन्द गरिएको बताए।
उनले उक्त निर्णय भदौ ८ गतेसम्म लागू हुने जानकारी दिए।
[pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2020/08/asdasd.pdf"]
बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने र स्थानीय तहलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय निर्णय गरेको छ।
काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ। संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।
सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गरेको हो।
अत्यावश्यक कामका लागि भने जुनसुकै बेला आवातजावत गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले बताए। आइतबारदेखि भदौ ८ गतेसम्म लागू हुनेगरी १५ दिन प्रशासनका काम कारबाही रोक्ने निर्णय भएको हो। यस्तै, बैठकले हाल सञ्चालनमा रहेका क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गर्न गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउने निर्णय गरिएको उनले जानकारी दिए।
स्थानीय तहलाई पनि क्वारेन्टाइन र आइसोलेसनको संख्या बढाउन निर्देशनसमेत दिइएको छ।
तीनै जिल्लाका सीसीएमसी कमिटीहरुबीच भएको बैठकले गैरसरकारी संस्था र निजी कार्यालयहरुलाई स्वास्थ्य सुरक्षा प्रोटोकल अनिवार्य कार्यान्वयन गराउन निर्देशन पनि दिइएको छ।
कोरोना संक्रमणको दर दैनिक बढ्दो रहेको अवस्थामा लापरबाही गर्नेलाई कडा कारबाही गरिने प्रजिअ दाहालले जानकारी दिए।
‘हामीले अरु कार्यालयहरुलाई प्रोटोकल अनिवार्य कार्यान्वयन गरी सञ्चालन गर्न अनुरोध गरेका छौं। यसबीचमा अनुगमन पनि हुन्छ, अनुगमनमा लापरबाही गरेको वा प्रोटोकल कार्यान्वयन नगरेको पाइएमा कारबाही मात्रै होइन, तीन संस्थाहरु बन्द गरिनेछ,’ उनले भने।
सरकारले उपत्यकामा सवारी साधानमा जोररबिजोर प्रणाली लागू गरेको छ। यस्तै राति ९ बजे पछि बिहान ५ बजेसम्म हिँड्डुल तथा सवारी साधान सञ्चालन गर्न पनि बन्द गरेको छ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय