कोरानालाई जितेका नवजात शिशुका आफन्तलाई कांग्रेस नेता बस्नेतद्वारा एक लाख नगद प्रदान

कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी सुत्केरी आमाको निधन भएपनि आफू भने कोरोनाबाट मुक्त हुन सफल नवजात शिशुको पालन, पोषण र शिक्षा, दिक्षाको जिम्मा लिने घोषणा गरेको नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नवजात शिशुको पालन पोषणका लागि नगद रकम उपलब्ध गराएका छन्।
धुलिखेल अस्पतालमा रहेका बालकको कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालले आजै मात्रै उनलाई घर लैजान दिएको समाचार पाए लगत्तै धुलिखेल पुगेर नेता बस्नेतले नवजात शिशुको पालन, पोषण र रेखदेखमा खटिएकी उनकी मामा भरकी हजुरआमालाई एक लाख रुपैयाँ उपलब्ध गराएका थिए।
तत्काल बालकको पालन, पोषण र पौष्टिक आहारका लागि नेता बस्नेतले ५० हजार आफ्नो तफर्बाट र उनले बालको पालन, पोषणका लागि चलाएको अभियानमा बेलायतमा बस्दै आएका पावर्ती गुरुङ र माया गुरुङले पठाएको ५० हजार गरी एक लाख रुपैयाँ शिशुकी आमाकी आमालाई दिएका थिए।
राजधानीको टिचिङ अस्पतालमा वैशाख २४ गते डेलिभरी भएर सिन्धुपाल्चोकस्थित आफ्नो घरमा गएकी सुत्केरी महिलामा कोरोना संक्रमणको लक्षण देखिएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना गरिएपनि उनको एक साता अघि निधन भएको थियो।
सुत्केरी महिलाको निधन पश्चात नेपालमा कोरोना संक्रमितको मृत्यु हुने क्रम सुरु भएकोमा अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय