
नेपाल एकीकरणको क्रममा तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथिको विजय पश्चात स्थानीय बासिन्दाको ७२ धार्नी नाक, कान काटेर बदला लिएको भन्ने अफवाहपूर्ण इतिहासबाट अहिलेसम्म पनि कीर्तिपुरबासी मुक्त हुन सकिरहेका छैनन्।
तर, त्यो तथ्याङ्क सहित थियो अथवा मिथ्याङ्क भन्ने विषयमा लाटो विश्लेषण गर्यो भने पनि त्यतिबेलाको जनसंख्याको चापसँगै त्यसको आधारमा त्यतिको मात्रामा नाक, कानको तौल पुग्न सक्ने जनसंख्या कीर्तिपुरमा थियो वा थिएन भन्ने इतिहासबारे सोध र अनुसन्धानको विषय हुन पनि सक्ला।
तर, कोरोना कहरले विश्वभरको मानव सभ्यता नै संकटपूर्ण घडीमा परिरहेकाबेला कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले साढे दुई सय वर्ष पुरानो इतिहासलाई माथ दिनेगरी कीर्तिपुरबासीको नाक काटिदिएका छन्।
कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई सुरक्षित राख्न सरकारले चैत ११ गतेदेखि देशभरी नै लकडाउनको आदेश जारी गरेसँगै आम सर्वसाधारण नागरिकहरु बन्दाबन्दीको अवस्थामा रहेका छन्। यसरी लकडाउनको अवस्थामा कुनै पनि स्वदेशी वा विदेशी नागरिक, भाडामा बसेका संगठित÷असंगठित मजदूर, ज्यालादारी श्रमिक, विद्यार्थी कोही पनि भोको नरहने गरी आवश्यक प्रबन्ध मिलाउन प्रदेश र स्थानीय निकायलाई निर्देशन पनि दिएको थियो।
तर, कीर्तिपुर नगरपालिकाका पदाधिकारीले स्थानीय नागरिक अथवा मतदाताबाहेकलाई आफूहरुले राहत उपलब्ध नगराउने निर्णय सार्वजनिक गरेर सरकारको आदेशको ठाडो उलंघन समेत गरे।
जसको पहिलो मारमा परे, देशकै पुरानो र ठूलो विश्वविद्यालय रहेको त्रिभुवन विश्वविद्यालय केन्दं्रीय क्याम्पस कीर्तिपुरमा देशका विभिन्न भागबाट उच्चशिक्षा अध्ययनका लागि आएर बसेका बेखर्ची विद्यार्थी।
तीन हप्तासम्म लगातार लकडाउनमा परेपछि साँझ, बिहान हातमुख जोर्न समेत समस्या परेपछि उनीहरुले कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जनलाई गुहार्दा नगर प्रमुखले नगरपालिकाको ‘क्राइटेरिया’ मापदण्डभित्र नपरेको भन्दै राहत उपलब्ध गराउन नसक्ने जवाफ दिएर निराश बनाए।
त्यसपछि विद्यार्थीहरुको समस्याबारे एक विद्यार्थी हेमराज थापाले एभिन्युज टेलिभिजनको ‘कोरोना कहर एभिन्युज पहल’ कार्यक्रमका संचालक सुशील पाण्डेलाई सम्पर्क गरे।
बिहिबार साँझ पाण्डेले ५ सय विद्यार्थीहरुको समस्याबारे कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जनसँग प्रत्यक्ष टेलिफोन सम्पर्क गर्दा उनले आफूहरुको क्राइटेरियाभित्र बहालमा बस्दै आएका विद्यार्थीहरु नपर्ने जवाफ दिएर आफ्ना निरिहतामात्रै प्रकट गरेनन्। नेपाली समाजमा प्रचलित उखान अनुसार, कुनै व्यक्तिले आफूले गर्नु पर्ने जिम्मेवारी बहन गर्न असफल भएपछि उसले इज्जतै फाल्यो भन्ने प्रसंगमा ‘नाकै काट्यो’ भनेजस्तै कीर्तिपुरबासीको इज्जतमाथी कालो पोतिदिए। संकटको घडीमा कीर्तिपुरका जनताले विद्यार्थीहरुलाई विगतदेखि अनेकौं पटक गर्दै आएका हरेक किसिमका साथ र सहयोगलाई विस्मृतीमा पुर्याइदिए।
त्यसलगत्तै कार्यक्रम प्रस्तोता पाण्डेले नगरपालिकाले नसक्ने भए आफूले सार्वजनिक अपिल गरेर व्यवस्था गर्ने जानकारी दिएर सहयोगका लागि आब्हान गरे।
पाण्डेको आब्हानमा कीर्तिपुरका भोका विद्यार्थीहरुलाई वैशाख १५ गतेसम्म पुग्नेगरी दाल, चामल र नूनको व्यवस्था आफूले गरिदिने आश्वासन नेको इन्सोरेन्स कम्पनीका कार्यकारी प्रमुख अशोककुमार खड्काले दिए भने उक्त राहत व्यवस्थापनमा सहयोगको हात बढाउन पुगे विकास श्रेष्ठ, एसपी सापकोटा र कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी राजकुमार केसी।
एभिन्यूज टेलिभिजनको पहलमा कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसस्थित प्राङ्गढमा पाँच सयको अनुमान गरी खाद्यन्न लिएर पुगेको सहयोग वितरण टेलिले दिनभर जस्तो लगाएर प्रति विद्यार्थी १० केजी चामल, एक केजी दाल, नून, आधा लिटर तेल, प्याज, आलु मिलाएर राहत वितरण गरे।
विद्यार्थीहरुलाई राहत वितरण पश्चात सहयोगका लागि पुगेका राजकुमार केसीले आफूहरुले दिनभर सबैको विवरण राखेर ९ सय ५६ जना विद्यार्थीहरुलाई राहत वितरण गरेको जानकारी दिए।
सरकारले अभावमा रहेका व्यक्तिहरुलाई राज्यकै आधिकारिक निकायबाट एकद्वार नीतिकै माध्यमबाट राहत उपलब्ध गराउने भनिएको भएपनि कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जनको गैरजिम्मेवारपूर्ण कदमका कारण उक्त नीतिको ठाडो उलंघन हुन पुग्यो।
एकातिर, उक्त राहत वितरण कार्यक्रममा नगरपालिकाको उपस्थिति हुने नैतिक आधार भेटाएन भने उता एकद्वार नीतिबाहिर गएर केही सर्वसाधारण व्यक्तिहरुले राहत वितरण गरेर कीर्तिपुर।
यसरी राहत वितरणमा पुगेका खड्काले कोरोनाको कारण सिंगो मानव सभ्यता नै संकटमा रहेको बेला जसले जे जति सक्छ नसक्नेलाई सहयोग गर्नु पर्छ भन्ने मान्यताले सहयोग गरेको बताए।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय