
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई फँसाउन ठूलो षडयन्त्र भएपनि आफू त्यसलाई जित्न सफल भएको दाबी गरेका छन्।
सभामुख पदमा रहँदा आफ्नै सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पद गुमाउँदै १३१ प्रहरी हिरासत र थुनामा परेका महरा काठमाडौं जिल्ला अदालतले आरोप दाबीको प्रमाण नपुगेको भन्दै केही दिन अघि रिहा भएपछि सोमबार आफ्नो निर्वाचन क्षेत्र दाङ पुगेका थिए।
दाङको लमहीमा आफ्नो स्वागतमा उपस्थित जिल्लास्तरिय नेता कार्यकर्ता र समर्थकसमक्ष महराले आफूलाई फँसाउने षडयन्त्र चिर्न आफू सफल भएको दाबी गर्दै आफ्नो जीत नै जनताको जीत भएका बताए।
आफ्नो विरुद्धमा कसले र किन षडयन्त्र कसरी गर्यो भन्नेबारे भने महराले केही उल्लेख गरेनन्।
उनको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महराले भने, ‘मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो।’
जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै महराले बिगतमा पनि आफू सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए।
उनले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो र त्यसकालागि म सधै लडिरहनेछु।’
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय