हिमाल दैनिक
यो उपनिर्वाचन नेकपाको सरकारबारे मिनि जनमत संग्रह होः कांग्रेस उम्मेदवार भडेल
krishna bhadel final-01-01
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदा निर्वाचन हुने क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको गतिविधिसँगै आम जनताको चासो पनि विस्तारै बढ्दै गइरहेको छ। भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र भक्तपुर केन्द्रित नेपाल मजदूर किसान पार्टीका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ। भक्तपुर उपमहानगरपालिकाको वडा नम्बर १० र ऐतिहासिक पृष्ठभूमि बोकेको चाँगुनारायण नगरपालिकाका ९ वडा मिलाएर बनेको उक्त निर्वाचन क्षेत्रका करिब ४५ हजार मतदातामाझ प्रमुख पार्टीका तर्फबाट उम्मेदवारहरू मैदानमा उत्रिएका छन्। त्यीमध्ये कांग्रेसको तर्फबाट प्रत्यासी चाँगुनारायण नगरपालिकाका कृष्णलाल भडेललाई मातृ सोक परेको छ। आइतबार अचानक आफ्नी ८७ वर्षीय आमा सेतीमायाको निधन पश्चात चाँगुनारायणस्थित आफ्नै निवासमा नेवारी परम्परा र रितीरिवाज अनुसार शोकमा रहेका भँडेल आफूमाथि परेको मातृशोकका बाबजूद पनि भेट्न आउने शुभचिन्तकहरुमार्फत मतदाताको मन र मत जित्न प्रयत्नशील छन्। सोमबार अपरान्ह उनको निवासमा पुग्दा उनी दिवंगत आमाको फोटो दायाँपट्टी राखेर भेट्न आउने साथीभाइ, इष्टमित्र, आफन्त र शुभचिन्तकसँग मातृशोकसँगै भोटको विषयमा सरसल्लाह र विमर्स गरिरहेका थिए। त्यही क्रममा हिमाल दैनिकसँग संक्षिप्त कुरा गर्दै भडेलले भने, ‘यो चुनाव मिनि जनमत संग्रह जस्तै हो। सरकार र सत्तारुढ पार्टीले गरिरहेका जनविरोधी गतिविधिलाई सही भन्दै उसैको उम्मेद्वारलाई मत दिने कि त्यो गलत हो भनि उसलाई सही बाटोमा ल्याउन कांग्रेस उम्मेदवारलाई विजयी गराउने,’ यही मुद्दा लिएर मैदानमा उत्रिएको छु। प्रस्तुत छः कांग्रेस उम्मेदवार कृष्णलाल भडेलसँगको कुराकानीको सम्पादीत अंशः
  • आसन्न उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क)बाट उम्मेदवार बनेर प्रचार प्रसारमै व्यस्त यहाँले आफ्नी ममतामयी आमालाई गुमाउनुपर्‍यो। यसका बाबजूद यो चुनावलाई कसरी लिनुभएको छ?
सबैभन्दा पहिले त यो दुःखद घडीमा यहाँले समवेदना व्यक्त गर्नुभएको धन्यवाद व्यक्त गर्न चाहन्छु। जन्म र मृत्यु हाम्रो बसको कुरा होइन। यसका अतिरिक्त निर्वाचन भनिसकेपछि यो जनताको मत लिने परीक्षणको घडी हो। यो जनताको बसकै कुरो हो। म जुन दिनदेखि राजनीतिमा लागेँ त्यसपछि मैले मेरो सबै रगत, पसिना यही क्षेत्र र यहीँका जनताका लागि बगाएँ। मैले आफूले सकेको र मेरो क्षमताले भ्याएसम्म यस क्षेत्रको विकास निर्माणका काम गरेर यहीँका दाजुभाई इष्टमित्रकै माझमा रहेँ। त्यसकारण मलाई अहिले यो उपनिर्वाचनमा विजयी गराउनुहुन्छ भन्ने पूर्ण विश्वास छ।
  • मतदातासँग मत माग्ने यहाँको आधार के हो?
मेरो भोट माग्ने आधार भनेको मैले अघि पनि भने, म यही चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा जन्मिएँ र सधैँभरी यस क्षेत्रका आदरणीय मतदाता र दाजुभाइ दिदिबहिनीमाझ हिँजोका दिनमा पनि पुगिरहेँ र आज पनि उहाँहरूको सुख दुःखमा साथ दिइरहेको कारण उहाँहरूले मलाई मत दिनुहुन्छ भन्ने पहिलो आधार हो। अर्को आधार भनेको यसक्षेत्रबाट नगरकोट जाने एउटा सडक छ। त्यो सडक दुई वर्षभित्र निर्माण गरिसक्नुपर्नेमा आज ६ वर्ष वितिसक्दा पनि निर्माण नहुँदा यस क्षेत्रका जनता निकै नै प्रभावित भइरहेका छन्। यसबारे हामीले पटक पटक विभिन्न निकायमा पुगेर हारगुहार गरी अविलम्ब निर्माण कार्य अगाडि बढाउन दबाब दियौं। तर, स्थानीय सरकार, प्रदेश र संघीय सरकार सबै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकदारसामू निरिह र मुकदर्शक भएर बसे। सत्तारुढ दलको नेताका लागि आवास सुविधा दिएपछि अरू जनतालाई जे सुकै होस् भन्ने परिस्थिति बन्यो। अहिले मैले भन्ने गरेको छु, यदि म यो प्रदेश सभा सदस्यमा निर्वाचित भएँ भने हरहालतमा एकवर्षभित्र यो बाटो निर्माण कार्यलाई पूर्णता दिएर यस क्षेत्रकै पर्यटकीय गन्तव्यको रुपमा रहेको नगरकोटलाई अझ सुन्दर पर्यटकीय क्षेत्र बनाउने मेरो प्रतिबद्धता छ। यो पनि मेरो मत माग्ने आधार हो।
  • स्थानीय तह, प्रदेश र संघीय सरकार गरी तीन तहकै सरकार नेकपाको नेतृत्वमा भएको बेला पनि नभएको विकास निर्माण कार्यलाई यहाँले कुन आधारमा अघि बढाउँछु भन्ने दाबी गर्न सक्नुहुन्छ?
मेरो आधार भनेकै जनआधार हो। जनताले विश्वास गरेर निर्वाचनमा विजयी बनाएपछि विद्यमान कानूनको परिधिभित्र रहेर त्यस अनुरूपका कानुनी प्रक्रियाको कार्यान्वयनमा अगाडि बढाउँछु। त्यो कानून र विधि अनुरूप यदि कसैले काम गरेनन् भने उनीहरुलाई जनताकै माझमा ल्याएर उभ्याउँछु। यदि कुनै ठेकदार र सरकारका मान्छेले राज्यको कानुन मानेनन् भने उनीहरुले जनताको आवाजलाई त मान्नु पर्ला नि। त्यसैले जनताको कठघरामा ल्याउन म पछि पर्दिनँ। म काम गराएरै छाड्छु।
  • विगतको चुनावमा जुन नारा दिएर सत्तापक्षले जनताको मत लिएको थियो त्यो नारा अहिले व्यवहारिक रूपमा कति परिपूर्ति भयो भएन भन्ने विषय यहाँको चुनावी मुद्दा बनेको छ कि छैन?
मैले भन्ने गरेको छु, कि अहिले जुन कालाबजारीया, भ्रष्टाचार, महंगी छ त्यसमा चित्त बुझेको छ भने उहाँहरुलाई नै मत दिनुहोस्। देशमा व्याप्त हत्या, हिंसा, आतंक बलात्कारका घटनामा चित्त बुझेको छ भने नेकपालाई मत दिनुहोस्। राज्यका दोहोरो, तेहेरो निकायबाट जनताको ढाड सेकिनेगरी लगाएको करबृद्धिप्रति चित्त बुझेको छ भने नेकपालाई मत दिनुहोस्। होइन, जनतामाथि भएको अन्याय, अत्याचार, हिंसा, महंगीको विरुद्धमा कानूनी शासन र जनताको अधिकार, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने हो भने कांग्रेस र त्यसको प्रतिनिधि मलाई मत दिनुहोस्। यो मिनि जनमत संग्रह जस्तो हो। सरकारले गरेका यी कुराहरु राम्रा हुन् भन्नेले नेकपालाई मत दिनुहोस्। यी गतिविधिहरु गलत हुन् भन्ने हो भने कांग्रेसलाई मत दिनुहोस्।
  • विगतमा जुन राष्ट्रवादको नारा लगाएर जनताको मन र मत जितेर सत्तामा पुगेको दल र यसको गतिविधिबारे जनताको मत के पाउनु भएको छ?
‘हाम्रा पुर्खाले लडे नालापानी, हामी लड्छौँ कालापानी’ भन्नु र गर्नुपर्ने अवस्था आएको छ। सत्तापक्षका नेताहरुले विगतमा लगाएका सस्ता नारा र झुट्टा आश्वासनको रंग खुइलिइसक्यो। वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली जस्ता नेताले गत चुनाव प्रचार प्रसारको समयमा हाम्रा बृद्धाबृद्ध बुबा, आमाहरूलाई तपाईँको घरघरमा आएर खनखनी पाँच-पाँच हजार रुपैयाँ दिँदै नमस्कार गर्छौ भन्नु हुन्थ्यो। रेलदेखि पानीजहाजको सपना पनि देखाउनु भएको थियो। घरघरमा ग्याँसको पाइप ल्याइदिन्छु भनेर एकपटक जनतालाई झुक्याउनुभयो। अब जनता सचेत भइसकेका छन्। एक पटक जनतालाई झुक्याएर मत पाए पनि अब जनताले उहाँहरुप्रति विश्वास गर्ने स्थिति छैन।
  • मत माग्ने क्रममा जनताको घरदैलोमा जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ?
म घरदैलो अभियान लिएर मत माग्न जाँदा अहिले देशमा व्याप्त विसंगती र विकृति विरुद्धमा कांग्रेस र यसको उम्मेदवारलाई नै मत दिन्छौँ भनि आश्वस्त पारिरहनुभएको छ।
  • राज्यशक्तिको प्रभाव कस्तो परिरहेको छ?
अहिलेदेखि नै राज्यशक्तिको दुरूपयोग गर्ने काम भइरहेको छ। जनताले तिरेको करलाई आफ्नो पैत्रीक सम्पत्ति जस्तो गरिरहेका छन्। यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनि हामी जनताको साथ लिएरै क्रियाशील भइरहेका छौँ।
  • यहाँका मतदातालाई केही भन्नु छ?
म यही माटोमा जन्मिएर यहीँको धुलोमाटोमा खेलेँ र हुर्किएँ। यस क्षेत्रका मतदाता जो देशभित्र र विदेशमा रहेका शुभचिन्तकहरुले म संलग्न पार्टी कांग्रेस र मेरो चुनाव चिन्ह रुखमा मत दिन र त्यसका लागि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। यससँगै म यहाँका जनतासामू यो पनि प्रण गर्छु कि यहाँका जनताले दिएको मत पाएर प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि यहाँका जनताको मत र मनको सधैँ उच्च सम्मानका साथ काम गर्नेछु। मलाई मत दिने मतदाताको मनमा कहिल्यै पनि हिनता र ग्लानीको भावना पैदा हुन दिनेछैन।
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update