हिमाल दैनिक
नेपाली कांग्रेस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली कांग्रेसको विधानअनुसार समिति विस्तार गरी गाउँपालिकास्तरीय समिति सर्वसम्मतरुपमा चयन भएको केन्द्रीय प्रतिनिधि तथा डिएलए अध्यक्ष रोहित देउवाले बताउनुभयो । डडेल्धुरामा सात वटा स्थानीय तह रहेका छन् । दुई नगरपालिकाका वडास्तरीय समिति भने पुरानै यथावत रहने जनाइएको छ । पाँच गाउँपालिकामा भने नयाँ सरंचनाअनुसार वडा एकाइ समितिसमेत गठन गरी पालिकास्तरीय समिति विस्तार भइसकेको कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा भने पुरानै समिति कायम गरिएको छ ।” अजयमेरु गाउँपालिकाबाट शुरु भएको स्थानीय तह पुनःसंरचना गठन कार्यक्रमअन्तर्गत पाँचवटै गाउँपालिकामा समिति गठन गरिएको हो । असोज १३ देखि शुरु भएको समिति विस्तार कार्यक्रम भागेश्वर गाउँपालिकामा समिति गठन गरेर सम्पन्न भएको जिल्ला सदस्य गोकुल शाहीले जानकारी दिनुभयो । डडेल्धुरा कांग्रेसको गाउँपालिका भेलाले अजयमेरु गाउँपालिकाको सभापति कर्णबहादुर मल्ल, आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा, नवदुर्गा गाउँपालिकाको सभापति रामचन्द्र अवस्थी, गन्यापधुरा गाउँपालिका सभापति इन्द्रबहादुर कार्की र भागेश्वर गाउँपालिका सभापतिमा नरबहादुर ठकुराठीलाई सर्वसम्मत चयन गरेको छ । रासस
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update