हिमाल दैनिक
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रत्येक वर्ष नयाँ वर्षमा पूरा नहुने नयाँ संकल्प र सपनासाथ सुरु गर्दै रुने क्यालेण्डरको तालिका नबदलिकन देश र जनता पीडाबाट मुक्त नहुने धारणा राखेका छन्। कांग्रेस र राजपाद्धारा प्रतिनिधि सभामा पेश भएको जरुरी सार्र्वजनिक महत्वको प्रस्तावमाथि छलफलमाथिको छलफलमा भाग लिने क्रममा थापाले यस्तो धारणा राखे। ‘प्रत्येक वर्ष नया वर्षमा पूरा नहुने नयाँ संकल्प र सपनाकासाथ हामी सुरु गर्छौँ र हाम्रो एउटा रुने क्यालेण्डर छ। जेठ, असारमा विकास खर्च भएन भनेर वा छोटो समयमा भयो भनि हामी रुन्छौँ। श्रावणमा हामी सार्वजनिक शिक्षाको अवस्थाका बारेमा दशैमा महंगीको बारेमा रुन्छौँ भने, प्रत्येक वर्षको श्रावण र भदौ वर्षा र बाढी पहिरो पीडितहरुको निम्ति रुनका लागि छुट्याएका छौँ,’ उनले भने। यो तालिका बदल्ने हो भने, हामीले काम गर्ने तरिका नबदलीकन हुँदैन भन्दै गरिरहेका केही कामहरु छोड्नु पर्ने छ र नगरिरहेका केही कुराहरु गर्नु पर्नेमा जोड दिए। के गर्ने भन्ने सन्दर्भमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जलवायु परिवर्तन विज्ञानसम्मत नभएको भन्ने सुविधा भएको बताउँदै तर, नेपालीसँग यो सुविधा नभएको बताउँदै जलवायु परिवर्तन नेपालको चासोको विषय रहनै पर्नेमा जोड दिए। जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिरहँदा पनि पीडितहरुको संख्या थपिइरहेको बताउँदै उनले कुनै ठाउँ अछुतो नभएको बताए। मधेस बाढीले सबैभन्दा बढि पीडित भएको र पहाडको पीडा पनि कम नभएको र पीडितको अवस्था उस्तै रहेको बताए। यसक्रममा विपक्षी दलको नेतादेखि विभिन्न सांसदले विभिन्न भागमा गएर फर्किएपछि प्राप्त सन्देशको सार एउटै रहेको उनले बताउँदै भने, ‘सरकार देखिएन, सरकार भेटिएन, सरकार सबै ठाउँमा पुग्ने इमान्दार प्रयास गरोस्, सरकारको यो प्रयासमा हाम्रो साथ रहन्छ। रहनु पनि पर्छ हामी सबै सरकारसँग रहन चाहन्छौँ।’ काठमाडौंमा भुकम्प गएको बेला मधेसका नागरिकहरुले गरेको सहयोगको स्मरण गर्दै पहाडका पनि कतिपय ठाउका नागरिकहरुले स्मरण गरेर काठमाडौंमा जो बाढी र पहिरोबाट प्रभावित छैनन् उनीहरुले दुःखमा परेका नागरिकको सहयोगका लागि अपिल गरे। प्रकृतिसँग सहअस्थित्वलाई नजरअन्दाज गरी मधेस, पहाड, उपत्यकामा जे विकास भनेर गरिएको छ त्यो विकास नभइ विनास भएको बताउँदै त्यसलाई अब रोक्ने बेला आएको बताए। ‘विकासको यो ढाँचालाई हामीले बदल्नै पर्छ,’ उनले थप्दै भने, ‘हामीले बनाएका केही पूर्वाधारहरुलाई हामीले बदल्नु र भत्काउनु पर्नेछ भने केही पूर्वाधारहरु तत्काल बनाउनु पर्नेछ।’ सीमापारी बाँध बाधियो र त्यसको कारण डुबान पर्यो भन्ने कुरा प्रत्येक वर्ष हामीले भन्दै आएको बताउँदै यो पटक संकल्प गरी सरकारले यसमा पहलकदमी गर्न र सिंगो संसद यसकुरामा एकठाउँमा उभिनु पर्छ र यो विषयको हल यो पटक हामीले खोज्नै पर्ने बताए। ‘प्राधिकरणको ऐन बनायौँ, यसलाई क्षमता र स्रो हामीले उपलब्ध गराउनु पर्छ र म अन्त्यमा यति नै आग्रह गर्न चाहन्छु, यो विषय यसपटक लगातार छलफल गरौँ। अहिलेलाई राहत, उद्दार र पुनस्थापनामा जुटौँ,’ उनले भने। गृहमन्त्री रामबहादुर थापाले मंगलबार पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, ‘गृहमन्त्रीजीलाई अनुरोध गर्न चाहन्छु, हिँजो एउटा सन्दर्भमा भन्नु भएको रहेछ, बलत्कार हिँजो पनि भयो, आज पनि हुन्छ र भोलि पनि रहन्छ, कृृपया बाढी पहिरोको सन्दर्भमा त्यसो नभनिदिनु होला। यो बेलामा हामी सरकारलाई साथ दिन चाहिरहेका छौँ। सरकारले लिड गरोस् हामी साथ दिन्छौँ। अर्को वर्ष कम्तिमा यो अवस्था आउन नदिने हो भने, यो राहत पुनस्थापनापछि हामी छलफल गरौँ अर्को वर्षलाई नकुरौँ।’ त्यसैगरी सदन अवरोध भएको विषयमा सत्तापक्षले लगाएको आरोपप्रति लक्षित गर्दै उनले भने, ‘एउटा अलमल लाग्यो, सदनको कारबाही कसले रोक्यो भन्ने बारेमा सम्भवत् सत्तासिन पार्टीका प्रधानमन्त्री र अन्य नेताहरुले जानकारी गराउनु नभएको पाइयो, त्यसैले सभामुखले अन्तिममा यत्रोदिन सदनको कारबाही कसले रोकेको थियो भन्ने जानकारी गराएर उहाँहरुको सूचनाको हक उपलब्ध गराइदिन आग्रह छ।’
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update