हिमाल दैनिक
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले अघि बढाएका विभिन्न विधेयकको कारण देशमा सरकारका अरिंगालहरु बाहेक कोही पनि सुरक्षित नरहेको दाबी गर्दै त्यसको विरुद्ध उत्रन सबैमा अपिल गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता थापाले सरकारका पछिल्ला गतिविधि र उसले बढाएका विधेयकहरुको उद्देश्य संविधान र लोकतान्त्रिक मान्यता विपरित रहेको आरोप लगाउँदै त्यसलाई तत्काल रोक्न सबै एकजुट हुनु परेको बताए। प्रस्तुत छ सांसद गगनकुमार थापाले संसदमा दिएको भाषणको पूर्ण पाठः सम्माननीय सभामुख महोदय, केही दिन अगाडि बेलायतको अक्फोर्ड युनियनमा मन्तव्य राख्दै सम्मानीय प्रधानमन्त्रीले भन्नु भयो, देशलाई संमृद्ध बनाउनका लागि अभिव्यक्ति स्वतन्त्रताको महत्व कति हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ। सम्माननीय प्रधानमन्त्रीजीले पक्कै पनि यो बेलायतको बारेमा कुरा गर्नु भएको हो। नेपालमा अभिव्यक्ति स्वतन्त्रताको हालत प्रधानमन्त्रीको सरकारले यहाँ के गरिरहेको छ हामी सबैलाई थाहा छ। शासकीय शैलीमाथि प्रश्न गरियो भनेर पशुपति शर्माको गीत बन्द गर्न लगाएको अस्तिमात्रै हो। सनातनदेखि चलिआएको संस्कृतिको संरक्षणको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान सम्पदा मास्ने षडयन्त्रको विरुद्धमा बोल्ने मुख थुन्न लाठी र पानी फ्याँकेको त झन अस्तिमात्रै हो। एब्र्सडिस्ट ह्युमरको विधामा रहेर एउटा चलचित्रको समिक्षा गरेवापत प्रनेश गौतम विनाकारण केहीदिनदेखि हिरासतमा छन्। यी केही प्रतिनिधि घटनामात्रै हुन्। घटना घट्यो भन्दा पनि सरकारले यसलाई कसरी लियो यो महत्वपूर्ण विषय हो। स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै यी प्रत्येक घटनामा सरकारको भूमिका ठिक भएको भन्ने सरकारको दलिल छ। र यो नै डरलाग्दो छ। हाम्रो संविधानले विचार अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकको रुपमा स्थापित गर्दै भन्छ, यो आधारभूत अधिकारको आत्मा हो। यो कसैले दिने होइन, कसैबाट पाउने होइन। यो अहरणीय छ। हो हाम्रो सार्वभौमसत्ता, स्वाधिनता, अखण्डता वा हाम्रो जात, जाति, धर्ममा खलल पुर्याउने कुनै अभिव्यक्ति भयो भने, जातिय भेदभाव, छुवाछुत्लाई दुरुत्साहन गर्ने भयो भने वा गाली वेइजती गर्ने अवस्था भयो भने मनासिव प्रतिवन्ध लगाउन पाइन्छ। कुनै व्यक्तिले आफ्नो अधिकारको प्रयोग गर्दैगर्दा राज्य, समाज वा अर्को व्यक्तिलाई अपूरणीय क्षति पुर्याउने अवस्था नबनोस् भनेर अपवादका रुपमा यो व्यवस्थाको प्रयोग हुन्छ भन्ने मानिएको हुन्छ। यो नै नर्मस् बन्न गयो भने, स्थिति डरलाग्दो हुन्छ। जुन अहिले बन्न जाँदैछ। किन कि सम्माननीय सभामुख महोदय, यहाँ त सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त गर्ने गरी गाली वेइजती गरिरहन पाउने तर, सरकारलाई मन नपर्दा गाली वेइजती, शिष्टाचार वा नैतिकताको नाममा जुनबेला मन लाग्यो जसको जतिखेर जहाँ मन लाग्यो त्यहिँ गएर मुख थुन्न पाउने गरी कानून सरकारले बनाउन लागेको छ। नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजूद संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ, कुनै पनि व्यक्तिलाई जिस्काउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, धम्क्याउने आसयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेशित गरेमा पाँच वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको सजाय भोग्नु पर्ने छ। जिस्काउने, झुक्याउने, होच्याउनेको परिभाषा के? यस्तै अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्तिको स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले २०१५ मा सिंगल भर्सेज युनियन अफ इन्डियाको मुद्दामा २००२ मा बनेको भारतको सूचना प्रविधि ऐनको दफा ६६ (ए)लाई असंवैधानिक भन्दै खारेज गर्यो। हाम्रो देशमा भारतको भन्दा कठोर कानून बनाउन लागिएको छ। सम्माननीय सभामुख महोदय, जिस्काउने, झुक्याउने, होच्याउने के हो? यसको परिभाषा गर्ने अन्तिम अधिकार सूचना प्रविधि अदालतलाई दिन लागिएको छ। याद रहोस्, सूचना प्रविधि अदालतमा रहने तीन जना सदस्यहरु सरकारले आफ्नो मनखुशी छान्न पाउने छ। सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका सबै विधेयकलाई एकठाउँमा राखेर हेर्यो भने, यसबाट सरकारको आशय के बुझिन्छ सम्माननीय सभामुख महोदय? सरकारले के भन्न खोजेको हो? सायद, लेखक ब्रजेश खनालले भन्नु भएको जस्तै भन्न खोजेको हो? तँ बोल, त्यतिमात्रै जो म सुन्न चाहन्छु, त हेर त्यतिमात्रै जो म देखाउन चाहन्छु, त सुन त्यतिमात्रै जे म सुनाउन चाहन्छु। तेरो स्वतन्त्रताको घेरा मैले कोरेको सून्य भन्दा बाहिर छैन। किन कि मलाई चिनेको छस्, म हुँ सरकार। हुँ म सरकार। म हुँ तेरो सरकार। ब्रजेश खनालले भन्नु भएको जस्तै सरकारको आशय र नियत देखिएको छ। चलचित्रकर्मी साथीहरु त्यसकारणले होसियार, तपाइको कथा, सम्वाद, गीतमा अब कसैलाई जिस्काउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा हिरासतमा अब सम्भवत् तपाई बस्नु पर्ला। यो पनि केहि दिनका लागि होइन, पाँच वर्षका लागि। गुठीयारहरु होसियार। गुठी भनेको सामन्तावादी प्रबन्ध हो भन्ने सरकारी मुखलाई खबरदारी भन्दै लेख्दै गर्दा धम्क्याइएको आरोपमा पाँच वर्ष भित्र बस्नु पर्ला। प्रधानमन्त्रीले पानीजहाज ल्याउँछु भनेर जिस्क्याउनु भयो भनेर कागजको पानीजहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार। समानुपातिक समावेशी सिद्धान्तका खिलाफमा कानून बनाइयो भनेर मन्त्रीलाई सामाजिक सञ्जालमा प्रश्न गर्ने होसियार। म त भन्छु, प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरकमत राख्ने साथीहरु पनि होसियार। किन कि सम्माननीय सभामुख महोदय, यहाँ अब कोहीपनि सुरक्षित छैन। यो कानून पारित भइसकेपछाडि यो कानूनको कसरी प्रयोग हुन्छ? हामी अहिल्यै अनुमान लगाउन सक्छौँ। यहाँ केबल सरकारका अरिंगालहरुमात्रै सुरक्षित रहन्छन्। त्यसैले सम्माननीय सभामुख महोदय, म सम्माननीय सभामुखको मार्फतबाट आम सांसदहरुको मात्र होइन, म अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेका तमाम नेपालीहरुलाई अपिल गर्न चाहन्छुः सबैलाई अगाह गर्न चाहन्छु, यो संसदबाट बहुमतको बलमा एउटा यस्तो कानून पारित गरिँदैछ यो कानून आज एउटाको खिलाफमा प्रयोग गर्दै गर्दा म त होइन नि अरु कसैको खिलाफमा प्रयोग हो भन्ने ठानिएको छ। एउटा युवकको बारेमा प्रयोग गर्दै गर्दा म त युवक होइन भन्ने ठानिएको छ। कुनै एउटा व्यक्तिको बारेमा प्रयोग हुँदै गर्दा म त्यो होइन भन्ने ठानिएको छ। तर, यस्तै गर्ने अवस्था रहने हो भने, सम्माननीय सभामुख महोदय, एकदिन हाम्रो दिन यस्तो आउने छ, जर्मन कवि मार्टिन न्युमल्रले भनेको जस्तैः पहिले उनीहरु समाजवादीलाई लिन आए, म बोलिन किन कि म समाजवादी थिइन। उनीहरु ट्रेड युनियन कर्मीलाई लिन आए, म बोलिन, किन कि म ट्रेड युनियनकर्मी थिइन्। उनीहरु ज्युजलाई लिन आए म बोलिन किन कि म ज्युज थिइन्। जब उनीहरु अन्तिममा मलाई लिन आए, मेरालागि बोल्न बाँकी कोही पनि थिएन। सम्माननीय सभामुख महोदय, यस्तै अवस्था आउँदैछ। उठौँ, बोलौँ, जागौँ, सरकारको यो कानूनका विरुद्ध अहिल्यै हो बोल्ने बेला। म सम्माननीय सभामुख महोदय मार्फत सबैलाई आग्रह गर्न चाहन्छु। यो कानून यो संसदबाट पारित हुनु भनेको यो संविधानको खिलाफ मात्र होइन, हाम्रो आन्दोलनको, हाम्रो अभिव्यक्ति स्वतन्त्रताको खिलाफ हो। त्यसैले म सबैलाई आजैबाट यो कानूनका बारेमा सुसूचित रहन, यसकाबारेमा लेख्न, बोल्न, भन्न र जनमत निर्माण गर्नका लागि सबैलाई अपिल गर्न चाहन्छु। धन्यवाद। https://www.facebook.com/himaldainik/videos/2353200828250160/
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update