सरकारी जग्गामा पार्टी कार्यालय राख्ने नेकपाले विपक्षी दलकाे चिन्ता छोड, आफ्नै प्रतिष्ठा जोगाउः भुषाल

विद्यमान ऐन, कानून र नियमविपरित सार्वजनिक जग्गामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय राखेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा गम्भिर प्रश्न उठाएको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको सून्य समयमा कांग्रेस सचेतक पुष्पा भुषाल गौतमले नियम, कानून मिचेर सार्वजनिक जग्गामा पार्टी कार्यालय राखेको नेकपा र त्यसका नेता तथा सांसदहरुले आफ्नो पार्टीको प्रतिष्ठा जोगाउने चिन्ता छाडेर कांग्रेसको चिन्ता नलिन सुझाव दिइन्।
उनले भनिन्, ‘सत्तापक्षलाई चैन अरुलाई ऐन। त्यो दृष्टान्त देखियो। भर्खरैै समाचारमा आए अनुसार, पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानका लागि भोगाधिकारका लागि सार्वजनिक जग्गा तीन रापनी सात आना दुई पैसा दिइएको थियो। तर अहिलेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले त्यो सार्वजनिक जग्गालाई नियम, कानून मिचेर नेकपाको पार्टी कार्यालय धुम्रबाराहीमा सञ्चालन गरेको कुराबारे आवाज उठीसकेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिष्ठालाई धेरै चिन्ता नलिउँ नेपाल कम्युनिष्ट पार्टीको पार्टी कार्यालय जसरी नियम मिचेर सार्वजनिक जग्गाको भोगाधिकार गरिराखेको छ त्यसको प्रतिष्ठा जोगाउने बढी चिन्ता गरौैँ र त्यसलाई बचाउने कोशिश गरौँ।’
https://twitter.com/i/status/1158655666325602304
सर्लाही घटनाको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै सदन अबरुद्ध पारेको कांग्रेसप्रति नेकपाका सांसद नवराज सिलवालले सोमबारदेखि सदन खुलाउन सत्तापक्षले लचकता देखाएर उसको इज्जत बचाइदिएको भनि टिप्पणी गरेपछि भुषाल र पार्वता डिसि चौधरीले प्रतिवाद गरेका थिए।
पासाङ ल्हामु प्रतिष्ठानको नाममा रहेको सार्वजनिक जग्गामा नेकपाको कार्यालय रहेको समाचार प्रकाशित भएपछि यसबारे विपक्षी दलले सदनमा कुरा उठाएको हो।
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय