हिमाल दैनिक
प्रधानमन्त्री बालेनको विवादस्पद अभिव्यक्तिले संघीय संसदको दुबै सदन प्रभावित

प्रधानमन्त्री बालेन्द्र साहले जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा व्यक्त विवादस्पद अभिव्यक्तिका कारण संघीय संसदका दुबै सदनको कारबाही प्रभावित हुन पुगेकोे छ। 

मंगलबार बसेको संघीय संसदका दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा विपक्षी दलका सदस्यहरुले प्रधानमन्त्री साहले संसदमा सांसदहरुसँग प्रश्नोत्तर गर्ने क्रममा नेपालको भूभाग भारतले मात्रै होइन, भारतीय भूभाग नेपालले पनि मिचेको जानकारी आफूले पाएको भनि दिएको अभिव्यक्तिको विरोध गर्दै अवरोध श्रृजना गरेपछि पूर्वनिर्धारित कार्यसूचिमा प्रवेश नै नगरी बैठक स्थगित भयो।

राष्ट्रिय सभाको मंगलबारको बैठक सुरु हुनेबितिकै भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक बुधबारम्मका लागि स्थगित भएको हो। 

बैठकको शुरूमै आकस्मिक समय माग गर्दै राष्ट्रियसभा सदस्य तुल प्रसाद विश्वकर्माले प्रधानमन्त्री स्वयं उपस्थीत भएर उक्त अभिव्यक्ति फिर्ता लिदै माफी माग्नुपर्ने माग गरे।

उनले नेपाल–भारत सीमा विवादलाई अन्त्य गर्न पहल गर्नुपर्नेमा उल्टै नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल र नेपालीमाथि ठूलो दुर्भाग्य भएको दावी गरे।

त्यस्तै अन्य सदस्यहरुले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरेका थिए। आकस्मिक समयपछि सदस्यहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यसूचीलाई अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

तर सत्तारुढ दलको एक जना पनि सदस्य नरहेको राष्ट्रिय सभामा सदस्यहरुले निरन्तर विरोध जनाएपछि अध्यक्ष दाहालले बुधबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए।

त्यसैगरी करिब दुई घण्टा ढिलागरी सुरु भएको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सदस्यहरुले प्रधानमन्त्री साहको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले आम नेपाली जनता र राष्ट्रको स्वाभिमानमाथि चोट पुगेको भन्दै तत्काल प्रधानमन्त्री सदनमा उपस्थित भएर माफी माग्दै त्रुटि सच्याउन माग गरे।

बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले एकसाता पछि बस्ने गरि संसदको बैठक स्थगित गरे।

मंगलबार बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बोल्नका लागि समय दिएका थिए।

सो क्रममा नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले देशका कार्यकारी प्रमुखले सीमाका बारेमा दिएको अभिव्यक्ति राष्ट्रियता बिपरित रहेकाले गम्भीर बिषयमा प्रधानमन्त्रीले माफी माग्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।

उनले देशका बिषयमा गम्भीर प्रश्न उठेकाले यसलाई टुङ्गोमा नपुराइ बजेटसम्बन्धी छलफल अघि नबढाउन आग्रह गरे।

त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइ प्रधानमन्त्रीले सत्यतथ्यसहित संसदबाट सम्बोधन गर्नुपर्ने बताए।

त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको प्रमुख व्यक्तिले सीमा बिषयमा सदनमा राखेको अभिव्यक्ति अविलम्ब सच्चाउन माग गरे।

सरकारलाई गल्ति गर्ने छुट नभएको भन्दै उनले आफ्नो अभिव्यक्ति पुष्टि गर्न माग पनि गरे।

त्यसका बाबजूद सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अघि बढाउने तयारीका साथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदम्बेलाई बोल्न समय दिए। 

सभामुखले समय दिएपनि आङदम्बेले केही नबोली उभिएर अन्य विपक्षी दलका सदस्यहरुकै सरह विरोध जनाइरहेपछि सभामुखले जेठ २५ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update