हिमाल दैनिक
सदनमा आइतबार भएको वितण्डाबारे छानविन गर्न समिति गठन
file photo

प्रतिनिधि सभाको आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ। 

आइतबारको बैठकमा केहि सांसदहरुले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पु¥याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोल प्रसाद अर्यालले सोमबार बताए।

सोमबारको प्रतिनिधि सभा विपक्षी दलका सांसदहरुले सभामुख अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा सत्तारुढ दलको चाहना बमोजिम विवादस्पद नियमावली पारित गराउनेदेखि प्रधानमन्त्री बालेन्द्र साहले दिएको विवादस्पद अभिव्यक्तिलाई लिएर निरन्तर अवरोध कायम गरेपछि आजको कार्यसूचिलाई हटाउँदै बैठक अन्त्य गर्नुअघि यस्तो जानकारी दिएका हुन्।

आइतबारको बैठकमा भएको भौतिक हानि नोक्सानी एवं क्षतिको मुचुल्का तयार भएकाले यस विषयमा आवश्यक जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए।

समितिको सदस्यमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्। 

समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम घटनामा संलग्नलाई आवश्यक कारबाही अगाडि बढाउन सकिने पनि उनले बताए।

यसअघि आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली पारितको प्रक्रियाप्रति असहमति जनाउदै बिपक्षी दलका सांसदहरुले वेल घेराउसहित विरोध गरेका थिए। सो क्रममा केहि कुर्सी र माइकमा समेत क्षति पुगेपछि जाँचबुझका लागि समिति गठन गरिएको हो।

 

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update