गुठी विधेयक फिर्ता नभए सदन चल्दैनः प्रधान
प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए।
कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाई थियो। विधेयक फिर्ता भएन भने काठमाण्डौ जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो।
रिपोर्टर्स क्लबमा बोल्दै प्रधानले मन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए।
गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको आरोप लगाए।
०६२–०६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप पनि उनले लगाए।
ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको जिकिर गरे।
‘गुठी विधेयक फिर्ता गर्नुपर्छ। फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ। ४ गतेपछि के हुन्छ हेर्दै जानुस्,’ प्रधानले भने।
साक्षात्कारमा पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए।
गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाब टण्डनले दिएका छन्।
‘गुठी भनेका हाम्रा पुर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो,’ टण्डनले भने।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६
प्रतिक्रिया दिनुहोस्


