हिमाल दैनिक
गुठी सम्बन्धी फिर्ता लिन राणा र लोहनीको चेतावनी
rpp samyukta rana and lohani
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सरकारले संसदमा पेश गरेको गुठी सम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ। बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले विद्येयक फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी पनि दिए। अध्यक्षद्धय राणा र लोहनीले संसदमा प्रस्तुत उक्त विद्येयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी गरे। अध्यक्षद्धयले उक्त विद्येयकले परम्परागत गुठीको सामूहिकताको व्यवस्थालाई सखाप पार्ने र सरकारी सहयोगबाट गुठीको सम्पत्ति भूमाफियाको स्वार्थमा परिचालन गर्ने संभावनालाई अगाडि बढाउने देखा परेको आरोप लगाए। अध्यक्ष जबराले यथार्थमा परम्परागत गुठी संरचनामा निहित र सामूहिकताको संस्कार मासेर गुठीको सम्पत्तिको नाङ्गो तरिकाबाट व्यवसायीकरण गर्ने र गुठीमा हजुरीया पुँजीवादलाई प्रोत्साहन गर्ने सरकारी लक्ष्य रहेको बताए। अर्का अध्यक्ष लोहनीले उक्त विद्येयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर विक्रि गर्न पाउनेगरि हजारौं रोपनी÷विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाए। सरकारले उक्त कानून ल्याउँदा सरोकारवाला पक्षसँग कुनै छलफल नगरेको पनि अध्यक्षद्धयको आरोप छ। राप्रपा (संयुक्त)ले संसदमा पेश भएको विद्येयक फिर्तासँगै गुठी व्यवस्थापनमा सुधार गर्न राष्ट्रव्यापी रुपमा गुठियार समूह, मठ–मन्दिरका संचालकहरु तथा यससंग सम्बन्धित विज्ञहरुसँग अन्तरक्रिया गर्नुपर्ने माग राखेको छ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update