पहिले पजेरो सुविधाले अहिले रू ६ करोड र ल्यापटप दिएर सांसदको हुर्मत नलिउँः झाँक्री

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले सांसदलाई कहिले पजेरो, कहिले सांसद विकास कोष त कहिले ल्यापटप वितरण गर्ने नाममा सांसद र संसदीय व्यवस्थाको हुर्मत लिने काम बन्द गर्न माग गरेकीछिन्।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सून्य समयमा बोल्दै नेतृ झाँक्रीले केहीदिन अगाडिदेखि सांसदहरुलाई संसद सचिवालयले ल्यापटप बाँढ्ने निर्णय गरी त्यसको खरिदका लागि टेण्डर प्रक्रिया अघि बढाएको विषयमा आपत्ति प्रकट गरिन्।
उनले भनिन्, ‘केहीदिन अगाडिदेखि ३५ जना सांसदहरुलाई संसद सचिवालयले ल्यापटप बाँढ्ने निर्णय छ, र यसका लागि टेण्डर आब्हान गरियो भन्ने कुरा सुने। यो सुन्दा मलाई दुःख लागेको छ।’
उनले सांसदहरुलाई यस्ता खुद्रामसिना कुराहरु बाँढ्ने र यसको हुर्मत लिने काम बेला बखतमा हुँदैआएको बताउँदै कहिले ६ करोडको सांसद विकास कोषको नाममा त कहिले भन्सार सुविधामा सांसदहरुले गाडी ल्याउने कुरा गरेर सांसदहरुलाई जनताबाट सम्बन्ध बिच्छेद गराउने र उनीहरुप्रति जनताको नकारात्मक भावना विकास गर्ने कार्य भइरहेको बताइन्।
‘यसले क्रमशः संसदीय व्यवस्था र प्रजातन्त्रमा नै आँच आएका घटनाहरु छन्। त्यसकारण यस्ता सस्ता कुरा गरी सांसदलाई प्रविधिमैत्री बनाउँछु भनेर सांसदको हुर्मत लिने काम बन्द गरियोस्। यो कुरा आपत्ति जनक छ र यस्तो काम गरिनु हुँदैन। यस्ता कामले सांसदको मर्यादा पनि बढ्दैन र संसदीय व्यवस्थाको गरिमा बढ्दैन,’ उनले भनिन्।
https://www.facebook.com/himaldainik/videos/465984014239956/?t=3
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय