जहाज होल्डिङको समस्या तत्काल समाधान गर्न पर्यटनमन्त्री ढकालको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जहाज होल्डिङ हुने समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचनाको निरीक्षण गर्दै मन्त्री ढकालले जहाज होल्डिङ भइ अनावश्यक सास्ती खेप्नृु परेकोले तत्काल यो समस्या समाधान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन् ।
आकाशमा डेढ घण्टासम्म जहाज होल्ड भएको गुनासो सुन्नु परेको बताउँदै उनले यस्तो समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन आग्रह गरे । उनले नेपालमा इन्धनको मूल्य धेरै भएको भन्दै अन्तर्राष्ट्रिय स्तरको मूल्य बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिए । जहाज होल्ड हुँदा नेपालको हवाई क्षेत्रको बारेमा गलत सन्देश समेत जाने उनको भनाई छ ।
त्यस्तै उनले विमानस्थलमा पहँचको आधारमा मान्छे प्रवेश गराएर भिआइपी कक्ष भिड कक्ष जस्तो भएको बताए ।
मन्त्री ढकालले त्रिभुवन विमानस्थलको व्यवस्थापन राम्रो भएमा देशका सबै विमानस्थल आफैं व्यवस्थित हुने दावी गरे । कोभिड–१९ ले सबैभन्दा धेरै मारमा परेका क्षेत्रमध्येको पर्यटन क्षेत्र पनि रहेको उनले बताए । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम बन्ने चरणमा रहेको बताउँदै मन्त्री ढकालले मातहतका सबै पक्षलाई सुझाव र सल्लाह दिन आग्रह पनि गरे ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय