हिमाल दैनिक
कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न देउवाको प्रस्ताव
3-dal-bipaxi
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि माओवादी र जसपासंग औपचारिक प्रस्ताव राखेको छ । कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बसेको कांग्रेस सहित माओवादी र जसपाको बैठकमा कांग्रेसले नयाँ सरकार आफ्नो पार्टीको नेतृत्वमा बनाउन पहिलो पटक औपचारिक प्रस्ताव गरेको हो । केपी ओली सर्वसत्तावादी भएकाले स्वतन्त्र चुनाव नहुने भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसले प्रस्ताव राखेको नेताहरुले जनाएका छन् । जवाफमा माओवादी सकारात्मक देखिएको छ भने जसपाले भने पार्टीभित्र आन्तरिक छलफल गरेर निर्णयमा पुगिने बताएको छ । बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकारका बारेमा पार्टीमा छलफल गर्नै बाँकी रहेको बताए । कांग्रेसले बैठकमा ३ दल मिलेर सरकार बनाउनका लागि प्रस्ताव गरेको पनि उनले जानकारी दिए । त्यस्तै माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णयमा आफूहरुको धारणा बुझेको बताए । श्रेष्ठले कांग्रेसको सरकार बनाउने प्रस्ताव स्वागतयोग्य भन्दै आफूहरु ओलीको विकल्पमा अर्को सरकार बन्नुपर्ने पक्षमा रहेको बताए । जसपाले छिटै निर्णय गरोस् भन्ने आफूहरुले चाहेको पनि श्रेष्ठले उल्लेख गरे । त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सत्ता समीकरणका लागि थालिएको पहल भएको बताए । शर्माले नयाँ सरकार बनाउनुपर्छ भन्नेमा एकमत बनाउन प्रयास भएको र नयाँ सरकारबारे जसपाले चाँडै निर्णय गरेपछि बैठक बसेर थप निर्णयमा पुग्ने जानकारी दिए । सत्ता समिकरणका बारेमा निरन्तर छलफल गर्ने सहमति भएको नेताहरुले जनाएका छन् । देउवाको आह्वानमा भएको बैठकमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मालगायत थिए । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी थिए । यस्तै, जसपाबाट नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत सहभागी थिए ।  
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update